नयाँ प्रधानसेनापतिका लागि गृहकार्य शुरू



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाली सेनामा नयाँ प्रधानसेनापतिका लागि कसरत शुरु भएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश पाउने दिन नजिकिएसँगै नयाँ प्रधानसेनापतिका लागि तयारी शुरू भएको छ ।

नेपाली सेनाको इतिहासमा पहिलोपटक ब्राह्मण समुदायबाट रथी प्रभुराम शर्माले नेपाली सेनाको कमान्ड सम्हाल्नुहुने भएको छ । यही साउन २४ गतेबाट बिदा बस्न लाग्नुभएका प्रधानसेनापति थापाले भदौ २४ गतेबाट अनिवार्य अवकाश लिएपछि ४४औं प्रधानसेनापतिका रूपमा शर्माले सेनाको कमान्ड सम्हाल्नुहुने भएको छ ।अनिवार्य अवकाश पाउनु एक महिनाअघि बिदामा बस्ने सैन्य परम्पराअनुसार थापा बिदामा बस्न लाग्नुभएको हो । थापा बिदामा बसेपछि कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी रथी शर्माले लिनुहुने भएको छ ।प्रधानसेनापति थापाले आफ्ना उत्तराधिकारी शर्मालाई नेतृत्व हस्तान्तरणको शुरुआत गर्नुभएको छ । नेपाली सेनाको महत्वपूर्ण निकायको नेतृत्व गरिसक्नुभएका शर्मा नेपाली सेनाभित्र सरल र मिलनसार व्यक्तिका रूपमा चिनिनुहुन्छ । शर्माले बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर गर्नुभएका शर्माले छिमेकी मुलुक भारतबाट नेसनल डिफेन्स कोर्स (एनडीसी) गर्नुभएको छ ।

उहाँले विभिन्न देशबाट सैन्य शिक्षा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ भने राष्ट्रसंघको अनुरोधमा विभिन्न युद्धग्रस्त मुलुकको नेपाली शान्ति सैनिकको नेतृत्वसमेत सम्हालिसक्नुभएको छ । वर्तमान प्रधानसेनापति थापाले शुरु गरेका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना आउने प्रधानसेनापतिको प्रमुख चुनौतीका रूपमा देखिएको छ ।प्रधानसेनापति थापाले शुरु गरेको आन्तरिक सुधारतर्फका कामलाई निरन्तरता दिँदै संगठनलाई थप सुदृढ र सक्षम बनाउने नयाँ प्रधानसेनापतिका लागि चुनौतीका रूपमा देखिएको छ । शर्मा सैन्य कूटनीतिमा दक्ष मानिनुहुन्छ । सेनालाई राम्रोसँग संयोजन गर्न सक्ने क्षमता उहाँमा रहेको छ ।प्रधानसेनापति थापाले पद बहाल गरेपछि सेनामा रहेको विकृतिको अन्त्य गर्ने घोषणाअनुसार उहाँले दण्ड र पुरस्कारको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने प्रयास गर्नुभएको थियो । नेपाली सेनाले मुलुकको रक्षाभन्दा व्यापारमा बढी ध्यान दिएको आरोप प्रधानसेनापति थापाले व्यहोर्नुपरेको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाली सेनालाई औषधि खरिद प्रक्रियाको जिम्मेवारी दिएपछि सेना विवादमा मुछिएको थियो ।

नेपाली सेनाको संयोजनमा शुरु भएको राष्ट्रिय गौरवको आयोजना काठमाडाै–तराई-मधेस द्रुतमार्ग आयोजनामा अनियमितता भएको आरोप उहाँले खेप्नुपरेको थियो । थापाले आफ्नो कार्यकालको अधिकांश समय आन्तरिक व्यवस्थापनमा बिताउनुपर्दा राष्ट्रिय चुनौतीमा ध्यान दिन नसकेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्