विशेष अदालतले उठायो ५५ करोड ६९ लाख धरौटी



विकास भट्टराई, काठमाडौं । 

भ्रष्टाचारलगायतका विषयमा मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले हालसम्म ५५ करोड ६९ लाख रुपियाँ धरौटीस्वरूप राजस्व संकलन गरेको छ ।विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार भ्रष्टाचारलगायतका मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले हालसम्म ५५ करोड ६९ लाख ८० हजार ३ सय १५ रुपियाँ ७३ पैसा धरौटीस्वरूप राजस्व संकलन गरेको हो ।विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राखेको धरौटीबापतको रकम १ करोड २८ लाख ६६ हजार ९ सय ४५ रुपियाँ आयोगलाई नै फिर्ता गरिएको बताइएको छ ।

हाल विशेष अदालतमा ६ सय ५७ थान मुद्दा विचाराधीन अवस्थामा रहेका सो अदालतबाट थाहा भएको छ । विशेष अदालतले अख्तियारद्वारा दायर गरिएको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण विभागबाट दायर भएका मुद्दाहरुको सुनुवाइ गरी किनारा गर्ने गर्दछ । गत आर्थिक वर्ष २०७७-०७८ मा सो अदालतमा जम्मा १ सय २७ थान मुद्दा मात्र दर्ता भएका थिए । आर्थिक वर्ष २०७६-०७७ मा ६ सय ६५ थान मुद्दा विचाराधीन भएर नयाँ आर्थिक वर्षमा जिम्मेवारी सरेको थियो ।दर्ता भएर मुद्दा फछ्र्यौट हुन २ वर्षभन्दा बढी समय लागेका मुद्दा १ सय ६२ थान रहेका छन् । अन्तिम फैसला हुन बाँकी १८ महिनादेखि २ वर्षभित्रका १ सय ८७ थान मुद्दा रहेका छन् ।यसै गरी, दर्ता भई ६ महिनादेखि एक वर्षभित्र विचाराधीन अवस्थामा रहेका मुद्दाको संख्या ६७ वटा र ६ महिनाभित्रका ५९ थान रहेका विशेष अदालतका प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७-०७८ मा विशेष अदालतमा कुल १ सय ३५ थान मुद्दा फछ्र्यौट भएका छन् । त्यसमध्ये अख्तियार वा सम्पत्ति शुद्धीकरण विभागले माग गरेबमोजिम ठहर भएका ६७ थान मुद्दा रहेका छन् । २३ थान मुद्दा आंशिक ठहर भएका थिए भने बाँकी ४४ थान मुद्दाका प्रतिवादीले सफाइ पाएका देखिएको छ । एक थान मुद्दा भने मुल्तवीमा रहेको छ ।विशेष अदालतले जानकारी दिएअनुसार फैसला भएका १ सय ३५ थान मुद्दामध्ये अधिकांशको फैसला तयार भइसकेको छ । बाँकी सात थान मुद्दाको मात्र फैसला लेख्न बाँकी रहेको प्रवक्ता पाण्डेयको भनाइ छ ।कोभिड–१९ को प्रभावले गर्दा अदालतमा सेवा पटक–पटक स्थगन गर्दा न्यायपालिकाले लिएको योजनालाई कार्यान्वयन गर्न कठिनाइ उत्पन्न भएको पनि विशेष अदालतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्