एक्लै ट्याक्सी चढेर पनि बैंक लुटियो



इभान्सभिल्ले, (एजेन्सी) ।  

अमेरिकी प्रहरीले इन्डियाना राज्य निवासी एक १९ वर्षीय किशोरले ट्याक्सीमा गएर बैंक लुटेर त्यही ट्याक्सीमा बसेर भागेको जनाएको छ । ‘डेर्रिक फारिया’ नामक ती किशोरले ट्याक्सी ड्राइभरलाई त्यही लुटेको पैसाबाट भुक्तानी दिएको पनि बुझिएको छ ।

इभान्सभिल्लेस्थित फिफ्थ थर्ड बैंकको शाखामा भएको उक्त डकैती भएको आधा घण्टाभन्दा छोटो समयमै उनी प्रहरीको फन्दामा परेका थिए ।दि इभान्सभिल्ले कुरियर एन्ड प्रेसले फारियाले कुनै पनि हतियार नदेखाई एउटा सानो कागजमा पैसाको माग गर्दै सन्देश लेखेर दिएको जनाएको छ ।

‘पारेफर्नलिया’ नामक अवैध औषधि साथमा राखेको र बैंक लुटेको अभियोगमा अहिले उनलाई भ्यान्डरबर्ग काउन्टी जेलमा थुनिएको छ । तर, अदालतको अभिलेखअनुसार भने उनलाई अहिलेसम्म औपचारिकरूपमा मुद्दा दायर नगरिएको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्