हिंसा नियोजित रूपमा फैलाइएको हो: राष्ट्रपति रामाफोसा



जोहान्नेसवर्ग, (एजेन्सी) । 

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मुलुकमा नियोजित ढंगले हिंसात्मक दंगा चर्काइएको तथा यो सरासर प्रजातन्त्रमाथिको प्रहार भएको बताएका छन् । अहिले कारगारामा थुनिएका पूर्वराष्ट्रपति ज्याकोव जुमालाई दंगा फैलाएको प्रत्यक्ष आरोप लगाइएको छ ।

सरकारका अनुसार दंगाकै सिलसिलामा मर्नेको संख्या २ सय पुगेको छ भने बिहीबार यता दुई दिनमा मात्रै झन्डै एक सय जनाको ज्यान गएको छ । धेरै दिनदेखि हुँदै आएका लुटपाटका कारण दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन थालेकाले प्रहरीले सुपर मार्केटहरूमा हुने गरेका खाद्यान्न आपूर्तिका लागि कडा सुरक्षा प्रदान गरिरहेका छन् । क्वाजुलु–नाताल प्रान्तका मेयरले आफ्नो क्षेत्रमा मात्र कम्तिमा ८ सय वटा खुद्रा पसलबाट एक अर्ब अमेरिकी डलर बराबरको सामग्री लुटिएको जानकारी दिएका छन् ।

हिंसाको केन्द्रबिन्दुको रूपमा रहेको जुमाको गृह प्रान्त क्वाजुलु – नाताको स्थलगत भ्रमणको क्रममा राष्ट्रपति रामाफोसाले भनेका छन्– ‘यी सबै लुटपाट र अस्थिरता प्रायोजित भएको स्पष्ट छ । यी घटनाहरूको योजना बनाउने र समन्वय गर्ने मानिसहरू छन् । यो दक्षिण अफ्रिकाको प्रजातन्त्र अपहरण गर्ने प्रयास हो ।’थोरै परिमाणमा खाद्यान्न वस्तु लगायतका अन्य उपभोग्य वस्तु पाउन पनि अहिले मानिसहरू लामो लाइनमा उभिरहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्