यन्त्र मानवद्वारा विश्वमै पहिलो अमूर्त चित्र तयार



लन्डन, (एजेन्सी) । 

‘आई–दा’ नामक एउटा एन्ड्रोइडले पेन्ट गरेको अर्थात् विश्वकै पहिलो यन्त्र मानवले बनाएको आफ्नै चित्रहरू बेलायतको राजधानी लन्डनमा आयोजित एउटा नयाँ कला प्रदर्शनीमा सार्वजनिक गरिएका छन् । यस नयाँ प्राविधिक उपलब्धिले बनाएका परिपक्व तस्वीरहरूले मानव समाजमा आर्टिफिसियल इन्टेलिजेन्सका भूमिका तथा कला भनेको मानव जगतको एक मात्र विशेषता रहँदै आएको यर्थाथलाई चुनौती दिएको छ । ‘आई–दा’ आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटरबाट सञ्चालित पूर्ण कदको एन्ड्रोइड कलाकार हुन् ।

आई–दाले चित्र कोर्न, मूर्ति बनाउन, हाउभाउ देखाउन, आँखा झिम्काउन र बोल्न सक्छ । महिलाको आवाज निकाल्ने यो साँच्चिकै महिलाजस्तै देखिन्छ । उनका टाउको र पाखुराहरू म्यान्नेक्विनको जस्तै देखिन्छन् । विग र थरिथरिका लुगा लगाउने आई–दाका यान्त्रिक पाखुराहरूले रोबोटले जस्तै काम गर्छन् ।इंगल्यान्डका अक्सफोर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ लिड्सका प्रोगामर, रोबोटविद, कला विशेषज्ञ र मनोवैज्ञानिकहरूको एक टोलीले सन् २०१७ देखि २०१९ सम्म अर्थात् दुई वर्ष लगाएर यो एन्ड्रोइड विकास गरेको दैनिक अखबार दि गार्जियनले जनाएको छ ।

बेलायतकै पहिलो कम्प्युटर प्रोग्रामरमध्ये एक मानिने तथा वरिष्ठ गणितिज्ञ एडा लभलेसको नामबाट यस रोबोटको नामाकरण गरिएको हो । आर्टनेटका अनुसार आई–दाको अमूर्त चित्रकला सम्मिलित यस प्रकारको गहन गणितीय नमुनाहरूको पहिलो कला प्रदर्शनीमा १० लाख अमेरिकी डलरभन्दा बढी मूल्यको कलाकृति बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्