‘पुलित्जर’ पुरस्कार विजयी पत्रकारको हत्या



नयाँदिल्ली, (एजेन्सी) । 

विश्वप्रसिद्ध ‘पुलित्जर’ पुरस्कार विजयी भारतीय फोटो पत्रकार ड्यानिस सिद्धिकीको अफगानिस्तानमा हत्या भएको छ । भारतका लागि अफगानिस्तानका राजदूतले जानकारी गराए अनुसार सिद्धिकी भारतमा कार्यरत अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका प्रमुख फोटोग्राफर थिए । कामको सिलसिलामै उनको अफगानिस्तानमा मृत्यु भएको हो ।

अफगान फौजको सुरक्षा घेराभित्रै रहेका उनलाई पाकिस्तानसँग जोडिएको एक प्रमुख सीमा चौकीनजिक तालिवान लडाकुहरूले एम्बुसमा पारेकाको अफगान सञ्चारमाध्यमले पुष्टि गरेको छ । भारत सरकारले उनको हत्यालाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । तालिवान समूहबाट भएको उक्त आक्रमणमा अन्य कतिजनाको ज्यान गएको भन्ने थाहा हुन सकेको छैन । भारतका लागि अफगानी राजदूत फरिद मामुन्दजायले एकजना असल मित्रको हत्या भएको खबर सुनेर आफू निकै मर्माहत भएको बताएका छन् ।

भारतको मुम्बई निवासी सिद्धिकी एक दशकभन्दा लामो समयदेखि रोयटर्सका लागि काम गर्दै आएका थिए । विशिष्ट फिचर फोटोग्राफीका लागि सन् २०१८ मा उनलाई पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको थियो ।म्यान्मारमा अल्पमत मुस्लिम समुदाय रोहिंग्याले भोग्नुपरेको हिंसात्मक दमनलाई लिएर काम गरेबापत उनका मित्र एडनान आविदी र अन्य पाँच जनासँगै उनलाई सम्मान गरिएको थियो ।

हालसालै कोरोना भाइरसको दोश्रो लहरको दौरानमा उनले खिचेका सामूहिक दाहसंस्कारका तस्वीरहरू विश्वभरि भाइरल भएका थिए ।अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणाअनुरूप अफगान भूमिबाट अमेरिकी फौज फिर्ता लिएपछि कान्दहारमा अफगान फौज र तालिवान लडाकुबीचको भिडन्तबारे समाचार संकलन गर्न उनी अफगानिस्तान पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्