न्युयोर्कमा अब आइतबार पनि केश काट्न पाइने



न्युयोर्क, (एजेन्सी) । 

न्युयोर्कका गभर्नर एन्ड्रयु क्युओमोले आइतबार पनि हजामहरूले दाह्री जुंगा र केश काट्न पाइने विधायकमा हस्ताक्षर गरेका थिए । पुरानो कानुनले आइतबारका दिन हजामहरूलाई यस्तो काम गर्नबाट रोक लगाइएको थियो । तर, न्यु्योर्क राज्यमा कार्यरत थुप्रै हजामले आफूहरूले आइतबारका दिन केश नकाट्ने भए पनि यस्तो कुरा कानुनमै व्यवस्था भएको जानकारी नभएको बताएका छन् ।

वाटर्टनस्थित स्पोर्टसम्यान्स बार्बर सपका मालिक कोन्नी जोहन्स्टनले डब्ल्यूडब्ल्यूएनवाई – टेलिभिजनलाई भन्छन्– ‘हो, म त आश्चर्यमा परें । हामीले कहिल्यै पनि आइतबार पसल खोलेनौं । तर, मलाई आइतबार कपाल काट्ने पसल खोल्न नहुने कानुन पनि रहेछ भन्ने कहिल्यै थाहा थिएन । धन्न हामीले कहिल्यै पनि त्यो कानुन उल्लंघन गरेका रहेनछौं ।’राज्यको रिपब्लिकन सिनेटर जोए ग्रिफो उक्त पुरानो कानुन निष्क्रिय पार्न विधेयक पेस गरेका थिए ।

ग्रिफाले भनेका छन्– ‘कोरोना भाइरस महामारीको दौरानमा हजामका पसल तथा सैलुनजस्ता साना व्यवसायहरूले नसोचेकै ठूला चुनौतीहरू सहन बाध्य हुनुप-यो । पुरानो र अनावश्यक कानुन रद्द गरेर यी स–साना व्यवसायीहरूलाई अर्थोपार्जन गर्ने थप अवसर मिल्ने विश्वास लिएको छुं ।’कोभिड–१९ का कारण सबैभन्दा बढी नागरिकको ज्यान गुमाउने मुलकमा अमेरिका रहेको छ । व्यापक खोप वितरणको बाबजुद पनि अमेरिकाको जनजीवन अझैसम्म पूर्णरूपमा सामान्य अवस्थामा फर्कन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्