सेल्फी लिँदै गर्दा ११ जनाको चटयाङले मृत्यु



नयाँदिल्ली, (एजेन्सी) ।

उत्तरी भारतको जयपुरमा अचानक चट्याङ पर्दा कम्तिमा ११ जना मानिसको ज्यान जानुका साथै अन्य थुप्रै घाइते भएका छन् । जयपुरस्थित पर्यटक आकर्षण स्थल मानिने बाह्रौं शताब्दीको आमेर किल्लाको टावरमा बसेर पानी परिरहेकाअवस्थामा सेल्फी खिचेर रमाइरहेकाहरूको चट्याङका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

सो दुर्घटना हुँदा टावरमा कुल २७ व्यक्ति रहेको र केही त्यहाँबाट तल जमिनतर्फ हामफालेको बताइएको छ । प्रत्येक वर्ष भारतमा औसतमा करिब दुई हजार व्यक्तिले चट्याङका कारण ज्यान गुमाउने गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।एक जना वरिष्ठ प्रहरी अधिकारीका अनुसार मारिनेमध्ये अधिकांश युवा–युवती भएको सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । आइतबार मात्र भारतको राजस्थानमा अन्य नौ जनाको पनि चट्याङमा परेर ज्यान गएको थियो । जयपुर पनि यही राज्यभित्र पर्दछ ।

यस राज्यका मुख्यमन्त्री अशोक गेहलोटले प्रत्येक मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप पाँच लाख भारतीय रुपियाँ दिने निर्णय गरेका छन् । भारतमा मनसुन यामको भीषण वर्षा प्रायशः जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहने गर्दछ । भारतीय मौसम तथा जलवायु विज्ञान विभागले ६० को दशकको तुलनामा चटयाङका कारण मर्नेको संख्या दोब्बर भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्