खोप प्रतिको विश्वास



कोरोना भाइरसविरुद्धको खोपप्रति जनविश्वास ह्वात्तै बढेको छ । यसको प्रमाण पछिल्लोपटक काठमाडौंको वानेश्वरस्थित निजामती अस्पतालमा मंगलबार देखियो । सो दिन उज्यालो हुनुअघि नै सेवाग्रही लाम लाग्न आएको र लामो लाइनका बाबजुद उनीहरुले धैर्यताका साथ पालो पर्खेको देखिन्थ्यो । एकातिर खोप नपाइएला भन्ने चिन्ता अर्कातिर कोभिसिल्डको दोस्रो मात्रा कुरेका १३ लाख ५० हजार ज्येष्ठ नागरिकको नियति भोग्नुपर्ने हो कि भन्ने अनिश्चितता !

निजामती अस्पताको दृश्य भेरोसेल खोपको दोस्रो मात्रा लगाउनेहरुको हो । ७ बजे टोकन बाड्ने अस्पतालको सूचना पाएका नागरिक बिहान ३ बजेदेखि नै लाइनमा बसेका देखिन्थे । लाइन बस्ने सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिक थिए । जतिखेर लाइन बसे पनि खोप लगाउने समय भने १० बजेदेखि मात्र थियो । कोरोनाविरुद्धको खोपका लागि जेठ २५ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबारदेखि भेरोसेलको दोस्रो मात्रा दिन शुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म अनुदान तथा खरिद गरी ४२ लाख ४८ हजार डोज खोप नेपाल भित्रिएको छ । यसमा भारतीय कम्पनीले उत्पादन गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ छन् । असार २२ सम्म कुल जनसंख्याको १० प्रतिशत २६ लाख ९४ हजार ७ सय ३१ जनालाई खोप लगाइसकिएको छ । यसमा ३ प्रतिशत नेपाली ७ लाख ५९ हजार ९ सय ५४ जनाले मात्र दोस्रो डोज लगाएका छन् । कोभिसिल्डको पहिलो मात्रा १८ लाख २८ हजार ४ सय ८४ जनाले र दोस्रो मात्रा ४ लाख ६० हजार ७ सय ३४ जनाले लगाएका छन् । भेरोसेल ७ लाख ८३ हजार ३ सय २३ जनाले पहिलो मात्रा र २ लाख ९९ हजार २ सय २० जनाले दोस्रो मात्रा पाएका छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ । नेपाल सरकारले चीनबाट थप ४० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । असार २४ देखि विभिन्न चरणमा १५ दिनभित्र खोप आपूर्ति हुने र भेरोसेल खोप प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक परेका छन् ।

सात घण्टा लाइन बसेर खोप लगाउनुपर्ने नेपालका ज्येष्ठ नागरिकको बाध्यता देख्दा ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा रोइरहेको अनुभव हुन्थ्यो । नेपालमा डेल्टा नामक छिटो फैलने कोरोना भाइरसका कारण धेरै मानिस संक्रमित हुनुका साथै ज्यानै गुमाउने अवस्थामा पुगेको देखेका कारण पनि सुरक्षा कवचको खोजी स्वाभाविक छ । राजनीतिक नेता र उनका परिवार कतिले खोप केन्द्रमा आएर त कतिले घरैमा समेत खोप मगाएर लगाइसकेका छन् । तर, ज्येष्ठ नागरिकलाई भने सरकारले सम्मान गर्न सकेको देखिएन ।

प्रतिक्रिया दिनुहोस्