माथिल्लो तामाकोसीबाट बिजुली राष्ट्रिय प्रणालीमा



नेपाल समाचारपत्र, काठमाडौं ।

स्वदेशी लगानीमा निर्मित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट स्वीच अन गरी
भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभयो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा निर्मित २२०/१३२ केभी न्यू खिम्ती सब–स्टेसन तथा सो सब–स्टेसनबाट नेपाल विद्युत प्राधिकरणको ढल्केबरस्थित ४००/२२० केभी सब–स्टेसनमा पुयाई त्यहाँबाट राष्ट्रिय

प्रसारण ग्रिड प्रणालीमा आबद्ध गरिएको हो । आयोजनाअन्तर्गत बाँध/इन्टेक, सुरुङ, भूमिगत विद्युत् गृहलगायतका सिभिल संरचनाहरूको निर्माण कार्य, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्य तथा ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन २२०/१३२ केभी सब–स्टेशनको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी परीक्षणसमेत भएको आयोजनाले जनाएको छ । आयोजनामा रहेको विद्युत् गृहका ६ वटा युनिटमध्ये तत्काल एउटा युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।

एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भए पनि तत्काल उक्त क्षमतामा भने विद्युत् उत्पादन नहुने जनाइएको छ ।
२०६७ भदौ १७ गतेबाट मुख्य सिभिल निर्माण कार्य शुरू गरिएको आयोजनाको शिलान्यास २०६८ जेठ ४ गते भएको थियो । शुरूमा ६ वर्षमा आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य राखिएकोमा मुख्य सुरुङको डिजाइन परिवर्तन, भूकम्प, तराई आन्दोलन, नाकाबन्दी, लामोसाँघु चरिकोट सडक स्तरोन्नतिको कारण ढुवानीमा आएको अवरोध, हाइड्रो मेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोना महामारी जस्ता कारणले निमाण कार्य ढिला हुन गएको थियो। आयोजनाको शुरू अनुमानित लागत निर्माण अवधिको ब्याजबाहे ४४१ मिलियन अमेरिकी डलर अर्थात् ३५ अर्ब २९ करोड रुपियाँ रहेकोमा डिजाइन परिवर्तन, आयोजनाको निर्माण अवधि लम्बिन जाँदा प्रशासनिक र परामर्शदाताको खर्च बढ्न गएको, बजार मूल्य बढ्न जाँदा निर्माण कार्यहरूको लागत बढेको लगायतका कारण आयोजनाको लागत ५९० मिलियन अमेरिकी डलर अर्थात् करिब ५२ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाको निर्माण अवधि थप भएको कारणबाट शुरु लागतमा प्रक्षेपण गरिएको निर्माण अवधिको ब्याज १४ अर्ब हुने आँकलन गरिएकोमा आयोजनाको निर्माण अवधि बढ्न जाँदा करिब ३२ अर्ब पुग्ने अनुमान गरिएको छ ।

आयोजनाको लट– १ मुख्य सिभिल कार्यको लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन, लट–२ हाइड्रोमेकानिकल कार्यको लागि भारतीय कम्पनी टेक्सम्याक रेल एन्ड इन्जिनियरिङ, लट ३ इलेक्ट्रोमेकानिकल कार्यको लागि अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रो र लट ४ प्रसारण लाइन तथा सब–स्टेसन कार्यको लागि भारतीय कम्पनी केईसी इन्टरनेसनलसँग सम्झौता भएको थियो । त्यस्तै, आयोजनाको अन्तिम डिजाइन, आयोजना व्यवस्थापन र सबै मुख्य लटहरुको निर्माण सुपरिवेक्षण परामर्श सेवाको लागि नर्वेजियन कम्पनी नरकन्सल्ट र जर्मन कम्पनी लेम्यार इन्टरनेसनल तथा नेपाली कम्पनी टोटल म्यानेजमेन्ट सर्भिससँग सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस्