खोप लगाउनेलाई वर्षभरि सित्तैमा मासु ख्वाइने



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको मिटप्याकर कम्पनी जेबीएस एसएले आगामी केही साताभित्र आफूले प्रायोजन गरेको कोभिड–१० विरुद्धको खोप कार्यक्रममा सहभागी हुने ५० वटा अमेरिकी परिवारलाई आगामी एक वर्षसम्म निःशुल्क गाई, बंगुर र कुखुराको मासु ख्वाउने आकर्षक योजना अघि सारेको छ ।

जेबीएसको अधिकांश स्वामित्व रहेको अमेरिकास्थित ब्राजिलियन कम्पनीको शाखा ‘पिलिग्रिम्स प्राइड’ नामक अमेरिकी कुखुराको मासु उत्पादन तथा आपूर्ति गर्ने कम्पनीका हजारौं मासु प्याक गर्ने कामदार कोभिड–१९ संक्रमित भएपछि सो कम्पनीको व्यापक आलोचना भएको थियो ।

कोरोना महामारीकै कारण सो कम्पनी केही समयका लागि बन्द रहन पुग्दा मासुको भाउ बढ्न पुगेको थियो । कम्पनीले अहिले आफ्ना ६६ हजार अमेरिकी कामदारमध्ये ७० प्रतिशतलाई खोप लगाइसकेको र ग्रामीण क्षेत्रका अन्य बासिन्दालाई पनि खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निःशुल्क मासु वितरण योजना ल्याएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई ४ सम्ममा ७० प्रतिशत अमेरिकी वयष्कलाई कम्तिमा कोभिड–१९ को एक डोज खोप दिइसक्ने लक्ष्य निर्धारण गरेका थिए । तर, सरकारी अधिकारीहरूले सो लक्ष्य पूरा हुन कठिन हुनसक्ने अनुमान लगाएका छन् ।
कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वमै सबैभन्दा बढी अमेरिकीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्