महिला सेनाको हाइहिल जुत्ता विवादमा



किभ, (एजेन्सी) ।

युक्रेनका महिला सेनाले युक्रेनको स्वतन्त्रता दिवसको पूर्वाभ्यासको अवसरमा हाइहिल जुत्ता लगाएर परेड खेलेको विषयलाई लिएर सरकारी सेवामा रहेका अन्य महिला कर्र्र्मचारीहरूले विभिन्न स्थानमा विरोध प्रर्दशन गरेका छन् ।

युक्रेनी महिला सेनाको पोसाक आचार संहितामा हाइहिल जुत्ता पनि पर्दछ । तर, अनौपचारिक परेड अभ्यासमा भने यस्ता जुत्ता लगाउन नदिने गरिएको बुझिएको छ ।

सेनाले महिला सेनाले पुरुष सहकर्मीले जस्तो सामान्य जुत्ताको बदलामा किन यस्ता जुत्ता लगाउँछन् भन्नेबारे कहिल्यै स्पष्ट पार्ने गरेको छैन । प्रत्येक सैनिक परेडको उद्देश्य सेनाको सैनिक क्षमता प्रदर्शन गर्नु रहेको हुन्छ । योद्धा मामिलासम्बन्धी लगायत तीनजना महिला मन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘सेनाको पोसाकमा यस्तो वर्गीकरण र विभेद गर्ने स्थान छैन ।’

हाइहिल जुत्ता प्रयोगको विरोधमा अन्य सरकारी महिला कर्मचारीहरूले पनि आ–आफ्नो सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् । बीबीसीका अनुसार एकजना महिला विधायिकाले त यस कार्यलाई सेनाको ‘मध्ययुगीन मनस्थिति’ भएको आरोपसमेत लगाएकी छन् ।
युक्रेनको राजधानी किभमा आयोजित सैनिक परेड पूर्वाभ्यासका क्रममा महिला सेनाले हाइहिल जुत्ता लगाएको तस्वीर र भिडियो फुटेजहरू सार्वजनिक भएका थिए ।

यस घटना चर्किएसँगै युक्रेनका रक्षामन्त्रीमाथि महिला सेनालाई परेडमा कम हिल भएको जुत्ता लगाउन दिन सरकारी महिला कर्मचारीहरूका व्यापक दबाब परेको छ । न्युयोर्क टाइम्सका अनुसार जनदबाबपछि रक्षामन्त्री एन्ड्री तारानले महिला सैनिकहरूसँग प्रत्यक्षरूपमा भेटघाट गरी उपयुक्त जुत्ता उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

सन् २०१८ देखि युद्धभूमिमा समेत जानेगरी युक्रेनमा महिला सेनाको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्