मृत्युवरण गर्नेमध्ये ९९ प्रतिशतभन्दा बढी खोप नलगाउने



वासिङ्टन, (एजेन्सी) ।

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनेमध्ये करिब ९९ दशमलव २ प्रतिशतले खोप नलिएको तथ्यांक सार्वजनिक भएको छ । आइतबार डाक्टर एन्थोनी फसीले वास्तवमा सजिलैसँग त्यो दुःखान्त परिस्थिति रोक्न सकिने विचार प्रकट गरेका छन् ।

प्रमुख सरुवा रोग विशेषज्ञ डा. फसीले एनबीसीको ‘मिट दि प्रेस’लाई भनेका छन्– ‘कोरोना भाइरस जस्तो भयानक संक्रमणलाई मत्थर पार्ने प्रभावकारी उपाय हुँदाहुँदै राम्ररी कार्यान्वयन गरिन नसकेको दखेर निकै दिक्क लागेको छ । खोप कार्यक्रम देशभरि समयमै सशक्त ढंगले कार्यान्वयन हुनु नसक्नु ठूलो दुर्भाग्यको कुरा हो । केही अमेरिकी नागरिकले सैद्धान्तिक वा खोपविरोधी वा विज्ञानविरोधी हो–हल्ला वा लहलहैमा लागेर खोप दिएनन् । वास्तवमा अमेरिका प्रत्येक व्यक्तिलाई खोपका व्यवस्था गर्न सक्षम भाग्यमानी मुलुक हो । जबकि, विश्वका अन्य मुलुकहरूमा मानिसहरू खोप लगाउने अवसर प्राप्तिका लागि जे पन गर्न तयार अवस्थामा रहेका छन् ।’

जोहन्स होप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा तीन करोड ३७ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमित हुनुका साथै कम्तिमा ६ लाख ५ हजार व्यक्तिको ज्यान गइसकेको छ । यसैगरी, विश्वभरि १८ करोड ३५ लाखवटा संक्रमणको घटना देखिएको छ भने ३९ लाखभन्दा बढी मानिसले मृत्युवरण गरिसकेका छन् ।

अमेरिकी कुल जनसंख्याको ४७ दशमलव १ प्रतिशत अर्थात् १५ करोड ६२ लाखभन्दा बढीले दुवै डोज खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्