खोप लगाउनेलाई वर्षभरि सित्तै मासु ख्वाइने



वासिङ्गटन, (एजेन्सी)

अमेरिकाको मिटप्याकर कम्पनी जेबिएस एसएले आगामी केही साता भित्र आफूले प्रायोजन गरेको कोभिड १० विरुद्धको खोप कार्यक्रममा सहभागी हुने पचास वटा अमेरिकी परिवारलाई आगामी एक वर्ष सम्म निशुल्क गाई, बङ्गुर र कुखुराको मासु ख्वाउने आकर्षक योजना अघि सारेको छ । जेबिएसको अधिकांश स्वामित्व रहेको अमेरिका स्थित ब्राजिलियन कम्पनीको शाखा पिलिग्रिम्स प्राइड नामक अमेरिकी कुखुराको मासु उत्पादन तथा आपुर्ति गर्ने कम्पनीका हजारौँ मासु प्याक गर्ने कामदार कोभिड १९ संक्रमित भएपछि सो कम्पनीको व्यापक आलोचना भएको थियो ।

कोरोना महामारीकै कारण सो कम्पनी केहि समयका लागि बन्द रहन पुग्दा मासुको भाउ बढ्न पुगेको थियो । कम्पनीले अहिले आफ्ना ६६ हजार अमेरिकी कामदार मध्ये ७० प्रतिशतलाई खोप लगाइ सकेको र ग्रामिण क्षेत्रका अन्य वासिन्दालाई पनि खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निशुल्क मासु वितरण योजना ल्याएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई ४ सम्ममा ७० प्रतिशत अमेरिकी वयष्कलाई कम्तिमा कोभिड १९ को एक् डोज खोप दिईसक्ने लक्ष निर्धारण गरेका थिए । तर सरकारी अधिकारीहरुले सो लक्ष पूरा हुन कठिन हुनसक्ने अनुमान लगाएका छन् । कोरोना संक्रमणको कारण अहिले सम्म विश्वमै सबैभन्दा बढि अमेरिकीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्