कोभिड नेगेटिभ देखियो, तर शरीरमा स्फूर्ति भएन

‘१२ हप्तासम्म रहन सक्छ पोस्ट कोभिडको लक्षण’



China: 440 confirmed cases of new coronavirus infection.
डा. आशीष थापा (एमडी, फेमिली फिजिसियन )

कोभिडमुक्त भएको १५ दिनपछि हालै एक परिवार मकहाँ आयो र भन्यो– ‘कोभिड जाँच्ने मसिन बिग्रेको हो कि क्या हो, हाम्रो त परिवार नै शिथिल छ त, कोरोना पोजिटिभमै छौं कि ?’ परिवारका श्रीमान्, श्रीमती, एक छोरा र एक छोरी गरी चार जनालाई लगभग एकै समयमा कोभिड भएको थियो ।

४६ वर्षका श्रीमान् कोभिड पीसीआर रिपोर्ट पोजेटिभ आएको तेस्रो दिन स्वास्थ्य अवस्था गम्भीर भएकाले अस्पताल भर्ना हुनुपर्‍यो । ४२ वर्षकी उहाँकी पत्नी, १८ वर्षका छोरा र १५ वर्षकी छोरी भने अस्पताल भर्ना हुनुपरेन । उहाँहरू होम आइसोलेसनमै बस्नुभयो र चिकित्सकको सल्लाहअनुसार उपचार गरेपश्चात् सबैजनाको कोभिड पीसीआर रिपोर्ट नेगेटिभ आयो । तर सबैको अवस्था सामान्य भने हुन सकेन । थकाइ लागिरहने, केही गर्न जाँगर पनि नचल्ने, हल्का काम गर्नेबित्तिकै मुटुको धड्कन बढेर आउने, निद्रा राम्रो नपर्नेजस्ता समस्याले उहाँका श्रीमती र छोरा–छोरीलाई दुःख दिइरह्यो । यो पोस्ट कोभिड सिन्ड्रोम हो । यसका लङ्ग कोभिड, लङ्ग हाउलियर्स, पोस्ट अक्युट, कोभिड–१९ जस्ता यसका थुप्रै नाम छन् ।

कोभिड संक्रमणको चार हप्ता अथवा सोभन्दा बढी समयपछि पनि केही शारीरिक र मानसिक समस्या रहिरहनु पोस्ट कोभिड सिन्ड्रोम हो । यो संक्रमणले सिकिस्त भएकाहरूलाई मात्र नभएर साधारण समस्या र मध्यम समस्या भएकालाई पनि असर गर्ने गर्दछ । पोस्ट कोभिड सिन्ड्रोमको व्यापकता र घटनाक्रम हेर्ने हो भने यसको असर १० देखि ३५ प्रतिशतसम्म पाइएको छ ।

पोस्ट कोभिड सिन्ड्रोमका लक्षणहरू व्यापकरूपमा फरक छन् । थकाइ लाग्ने, खोकी लाग्ने, मन्द ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, टाउको दुख्ने, शरीर दुख्ने, हाडजोर्नी र मांसपेशीहरू दुख्ने, कमजोरी महशुस हुने, पखाला लाग्ने, निद्रा नलाग्ने, मनमा अनेक थरीका कुरा खेल्ने, ध्यान केन्द्रित गर्न नसक्ने, खाना नरुच्ने, शरीरमा डाबरहरू आउने, गन्ध र स्वाद थाहा नपाउने यसका लक्षण हुन सक्छन् । पोस्ट कोभिड सिन्ड्रोम यतिमा मात्र सीमित नरहेर कोभिड संक्रमण हुनुअघि नियन्त्रणमा रहेका सुगर, प्रेसरजस्ता रोगहरू अनियन्त्रित पनि हुन सक्दछन् ।

यसबाट बच्न भने सरल छ– नियमित व्यायाम, योग र ध्यान गर्ने, आफ्नो खानपान र निद्राको ख्याल राख्ने । दीर्घरोगहरू छन् भने आफ्ना पुराना औषधिहरू चिकित्सकको सल्लाहबमोजिम यथावत् खाने, मदिरा, चुरोटजस्ता स्वास्थ्यलाई हानिकारक वस्तुको सेवन नगर्ने । कुनै पनि गम्भीर समस्या आइपरेमा वा समस्या लामो समयसम्म रहिरहेमा पारिवारिक चिकित्सकको सल्लाह लिने । औसतमा १२ हप्ताभित्र यस्ता लक्षणहरू निको भएर जान्छन् । केहीमा मात्र यो समस्यमा १२ हप्ताभन्दा बढी लम्बिने गर्दछ । कसलाई पोस्ट कोभिड सिन्ड्रोमको समस्या आउँछ र कसलाई आउँदैन भनेर अनुमान गर्न भने गाह्रो छ ।

आम सर्वसाधारणमा कोभिड निको भएको कति समयपछि जाँच गराउने अथवा कहिले पारिवारिक चिकित्सकसँग भेट्ने भन्ने कुरालाई लिएर स्पष्ट धारणा छैन । अस्पताल भर्ना भई कोभिड जितेर घर फर्केकाहरूले एक देखि दुई हप्तामा चिकित्सकसँग भेटेर आवश्यक जाँच गराउनुपर्छ भने होम आइसोलेसनमै बसेकाहरूले तीन देखि चार हप्तामा चिकित्सकसँग भेटेर आवश्यक पारमर्श लिनैपर्छ ।

कोभिड निको भएपछि पनि जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनको एउटा लेखमा भने एकपटक कोभिड भईसकेपछि शरीरमा ६ देखि आठ महिनासम्म एन्टिबडी रहेको पाइएको उल्लेख छ ।

कोरोनाबाट बच्नका लागि कहिल्यै कोभिड नभएका, कोभिड भइसकेका तथा कोभिडविरुद्वको खोप लिईसकेका अर्थात् सबैले स्वास्थ्य सावधानीका मापडण्ड पालना गर्नैपर्छ । मिल्दोजुल्दो सबै लक्षण कोरोना नै हो भन्ने ठानी आफूखुसी औषधि सेवन गर्नुहुँदैन । लक्षित समूहमा पर्ने सबैजनाले कोभिडविरुद्धको खोप लगाउनुपर्छ । कोभिड जितिसकेपछि पनि १२ हप्तासम्म विभिन्न किसिमका लक्षण देखिन सक्ने भएकाले आत्तिनु हुँदैन । चिकित्सकीय परामर्शमा बस्नुपर्छ भने घरमा नै पाइने पोषणयुक्त खाना, हलुका व्यायाम, योग, ध्यान गरी आफ्नो नियमित पेसा व्यवसायमा फर्किनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्