लागत घटाउन र उत्पादन बढाउन देवदहमा प्रविधिको प्रयोगमा अनुदान



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको देवदह नगरपालिकाले कृषि उत्पादन लागत घटाउन र उत्पादन बढाउनको लागि प्रविधिको प्रयोगमा अनुदानको नीति अख्तियार गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकिकरणलाई प्रवद्र्धन गर्नुको साथै यान्त्रिकिकरणका माध्यमबाट उत्पादन लागत घटाउने र उत्पादन बढाउने नीति लिईएको नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।

कृषिमा चक्लाबन्दिको नीति अख्तियार गरेको नगरपालिकाले चक्लाबन्दि गर्दा उपकरणको प्रयोगमा अनुदानको व्यबस्था गरेको हो । ‘कृषि उपकरण हलोको ठाउँमा ट्याक्टर आयो, धान गहुँ काट्न कम्पाईन मेसिन आयो, उपकरणले सहज त बनायो ।’ नगरपालिकाका प्रमुख खत्रीले भन्नुभयो–‘तर उत्पादन लागत कम गर्न र उत्पादन बढाउन सकिएन ।

जमिनको चक्लाबन्दिको लागि नगरपालिकाले अहिले दुई वटा ‘लेजर लेवलर’ मेसिन समेत ल्याएको छ भने जमिनको चक्लाबन्दि गर्ने किसानलाई प्रति विगाहा १० हजार रुपैंया अनुदानको व्यबस्था समेत गरिएको नगरप्रमुख खत्री बताउनु हुन्छ । कम्युप्टरबाट मोनिटरिङ् हुने ‘लेजर लेवलर’ले जमिनको सबै भू–भाव बराबर लेवलमा मिलाउने हुनाले सबै भागमा समान सिचाई हुन्छ ।

चक्लाबन्दिमा यान्त्रिकिकरणको प्रयोगले तुलनात्मक रुपमा समय समेत कम लाग्ने र लागत स्वतः कम लाग्ने तथा त्यसका माध्यमबाट उत्पादन समेत बढाउन सकिने उहाँले बताउनु भयो । देवदह नगरपालिकामा कृषिमा यान्त्रिकिरणको प्रयोग बढ्दै गएको छ । नगरभित्र अहिले मेसिनको प्रयोगबाट धान रोप्न काम समेत सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्