भर्चुअल चित्रकलामा महाचुनी उत्कृष्ट



हेटौंडा, (नेस)।

मकवानपुरको इन्द्रसरोवरमा सञ्चालित भर्चुअल चित्रकला प्रतियोगितामा महाचुनी मावि उत्कृष्ट भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन, इन्द्रसरोवर कमिटीको आयोजनामा बुधबार भएको प्रतियोगितामा महाचुनी मावि प्रथम र तृतीय भएको हो।

प्रतियोगितामा महाचुनीकी कक्षा–९ की छात्रा सुप्रिया लामा प्रथम, पञ्चकन्या माविकी कक्षा–६ की प्राची लामा द्वितीय र महाचुनीकै कक्षा–१० का छात्र इशाक बिक तृतीय भएका हुन्। पालिकाभित्रका कक्षा–६ देखि १० सम्मका छात्राछात्रबीच जुम एप्समार्फत् गरिएको चित्रकला प्रतियोगितामा पालिकाअन्तर्गत ६ मावि र १ आधारभूत विद्यालयका ९ विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रकृतिका विषयमा भएको प्रतियोगितामा शिक्षकहरू सहदेवकुमार रिमाल, संरचना शर्मा, सरस्वती थापा र आशा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगिता नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी मकवानपुर अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यता तथा इन्द्रसरोवर गाउँ शिक्षा समिति सदस्य देवकृष्ण पुडासैनीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्