सिरियाली समस्याको राजनीतिक समाधानका लागि जोड



दोहा, (एजेन्सी) ।

कतारले सन् २०१२ को जेनभा सन्धि र सुरक्षा परिषद्को प्रस्तावनाअनुरूप सिरियाली समस्याको राजनीतिक समाधान खोज्ने अन्तर्राष्ट्रिय जगत र संयुक्त राष्ट्रसंघको प्रयासप्रति आफ्नो पूर्ण सहमति र समर्थन रहने प्रतिबद्धता जनाएको छ । साथै, कतारले सिरियाली समस्याको अन्त्यका लागि सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरिरहेको पनि जनाएको छ ।

सोमबार सिरियाको समस्यामाथि छलफल गर्न इटालीको शहर रोममा भएको बैठकमा बोल्ने क्रममा कतारका उप–प्रधानमन्त्री तथा विदेश मामिलामन्त्री शेख मोहम्मद विन अब्दुलरहमान अल थानीले सिरियाली जनताले विगत दश वर्षदेखि भोगिआएका दुःख, समस्या र व्यथामाथि फरक ढंगले सुरक्षा परिषद्को प्रस्तावना संख्या २२५४ अनुसार पहल गर्ने समय आइसकेको बताएका छन् ।

साथै, अल थानीले सिरियाली समस्यालाई राजनीतिक तवरले समाधान गर्नका लागि संयुक्त राष्ट्रसंघका महासचिव र सिरियाका लागि कतारका विशेष दूतले दिइरहेको योगदानको पनि प्रशंसा गरेका छन् ।

सिरियाली गृहयुद्धमा लाखौं सिरियाली ज्यान जानुका साथै लाखौंको संख्यामा घरबारविहीन भइसकेका छन् । युद्धको चपेटामा परेको सिरिया अहिले कोरोना महामारीको अर्को डरलाग्दो समस्या भोगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्