मानव वजन घटाउन बंगारा लक गर्ने उपकरण



लन्डन, (एजेन्सी) ।

जसरी भए पनि आफ्नो शरीरको वजन घटाउन तत्पर मोटा मानिसहरूको समस्यालाई ध्यानमा राखेर ‘डेन्टल स्लिम डाइट कन्ट्रोल’ नामक नयाँ उपकरणको आविष्कार गरिएको छ । तर, विश्वमै पहिलोपटक यसरी मानव बंगारा नै लक गर्ने किसिमले उपकरण बनाउने अनुसन्धानकर्ताहरूको भने व्यापक आलोचना हुन थालेको छ ।

न्युजिल्यान्डको युनिभर्सिटी अफ ओटागोको विशेषज्ञहरूको एक टोलीले यो उपकरण विकास गरेको हो । मानिसलाई ठोस खाना खानबाट रोक्न बंगारा बन्द गर्ने उद्देश्यले बनाइएको यस उपकरणमा चुम्बकीय पुर्जा प्रयोग गरिएको छ ।

शल्यक्रियामार्फत यसलाई जडान गरिने बताइएको छ । वजन घटाउन चाहने व्यक्तिको माथिल्लो र तल्लो बंगाराको पछाडिका दाँतमा यो उपकरण जडान गरिँदा मुख २ मिलिमिटर मात्र खोल्न मिल्छ । तैपनि, श्वास फेर्न र कुरा गर्न यसले बाधा पुर्‍याउँदैन ।

यस उपकरणको प्रयोग परीक्षणको क्रममा सहभागी व्यक्तिको दुई सातामा औसत ६ दशमलव ३६ किलोग्राम वजन घटेको पाइएको छ । युनिभर्सिटी अफ ओटागोको डिभिजन अफ हेल्थ साइनसेजका भाइस चान्सलर तथा डेन्टलस्लिम डाइट कन्ट्रोलका लागि भएको अनुसन्धानको नेतृत्व गर्ने प्रोफेसर पाउल ब्रन्टनले दन्त चिकित्सकबाट जडान गरिने यो उपकरण आवश्यक परेका बेला पटक–पटक राख्न र निकाल्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्