शक्तिशाली मुलुकहरूलाई चिनियाँ राष्ट्रपतिको चेतावनी



बेइजिङ, (एजेन्सी) ।

चीनका राष्ट्रपति सी जिनपिङले यदि विदेशी शक्तिहरूले आफ्नो मुलुकलाई प्रभावित गर्न वा तर्साउन खोजेको खण्डमा तिनीहरूको टाउको फोडेर रगत्ताम्य पारिने चेतावनी बिहीबार दिएका छन् । सत्तारूढ कम्युनिस्ट पार्टीको शत वार्षिकी दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा भाषण दिने क्रममा सिले सो चेतावनी दिएका हुन् ।

यसैबीच, सीले बेइजिङले कुनै पनि ‘हठवादी प्रवचन’ लाई पनि छुट नदिने बताएका छन् । राजनीतिक विश्लेषकहरूले उनको यो प्रतिक्रिया संयुक्त राज्य अमेरिकाप्रति इंगित रहेको अनुमान गरेका छन् ।

बाह्य जगतबाट चीनमा भइरहेको मानव अधिकार उल्लंघन र हङकङमा यसले व्यापक राजनीतिक हस्तक्षेप गरेको आरोप लगाइन थालेपछि चीनको यो पछिल्लो औपचारिक प्रतिक्रिया बाहिर आएको हो ।

व्यापार व्यवसाय, जासुसी र कोरोना भाइरस महामारी जस्ता विषयलाई लिएर पछिल्ला समयमा अमेरिका र चीनबीचको सम्बन्ध चिसिन पुगेको छ ।

तिनीहरूबीचको अर्को प्रमुख तनावको विषय ताइवान हो । प्रजातान्त्रिक ताइवानले आफूलाई स्वतन्त्र तथा सार्वभौमसत्ता सम्पन्न मुलुक ठान्ने गरेको छ भने बेइजिङ यसलाई अझै पनि आफ्नो प्रान्तबाट टुक्रिएको एउटा टापु मान्ने गर्दछ ।

सीले चीनको ताइवानलाई एकीकरण गर्ने नीति तथा प्रतिबद्धतामा अहिले पनि रत्तिभर विचलन नआएको बताएका छन् । बिहीबार बिहान तियानमेन चोकमा आयोजित यस विशेष समारोहमा सैनिक जेट विमानहरू उडाइनुका साथै तोपबाट सलामी दिने र देशभक्ति गीत गाउने कार्यक्रम सम्पन्न भएको थियो ।

एकदमै नजिकबाट होसियारीपूर्वक निगरानी गरिएको विशाल जनसमूह उपस्थिति रहेको सो कार्यक्रममा अधिकांशले मास्क लगाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्