पाल्पाका पाँच सरकारी कार्यालयमा तोेडफोड र चोरी



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पाको पश्चिम भेगमा पर्ने रैनादेवी छहरा गाउँपालिका भित्रका पाँच कार्यालयमा अज्ञात समूहले तोडफोड गरी नगद समेत चोरी गरेको छ । वुधवार राती विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो । सो गाउँपालिका ५ स्थित मुझुङ टोलमा रहेको वडा कार्यालय, कालिका माविको कार्यालय, महिला सहकारी संस्था, हुलाक कार्यालय, कृषि सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अज्ञात समूहले मुझुङ कृषि सहकारी कार्यालयबाट चार हजार, वडा कार्यालयबाट एक हजार ६ सय, कालिका माध्यमिक विद्यालयबाट ५० हजार चोरी गरेको छ । कार्यालयको ढोका फोडेर त्यहाँ भित्र रहेको दराजबाट नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

यस्तै स्थानीय नेत्र बहादुर कार्कीको नास्ता पसलमा पनि तोडफोड गरी नगद चोरी गरेको जनाइएको छ । उक्त समूहले कोठा भित्र रहेको दराजको ताल्चा फुटाली नगद सात हजार र एनटीसीको आठ हजारको रिचार्ज कार्ड चोरी गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्