संवैधानिक निकायको नियुक्ति बदर गर्न माग गर्दै रिट निवेदन



काठमाडौं, (नेस) ।

संवैधानिक निकायहरूमा हालै भएको नियुक्ति बदर गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर गरिएको रिट निवेदनमा संसदीय सुनुवाइविना नै नियुक्ति दिइएको उल्लेख गर्दै उनीहरूको नियुक्ति बदर गर्न माग गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १० गते विभिन्न संवैधानिक निकायहरूमा २० पदाधिकारी नियुक्त गर्नुभएको थियो । ती पदाधिकारीलाई गत वैशाख २६ गते संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नेपालको संविधानमा संवैधानिक परिषद्द्वारा सिफारिस भएकालाई संसदीय सुनुवाइ गरेपछि मात्र नियुक्ति गर्नुपर्ने उल्लेख छ । तर, सम्बन्धित नियमावलीमा सिफारिस भएको ४५ दिनसम्म पनि सुनुवाइ हुन नसकेमा सिफारिस भएकालाई नियुक्त गर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

सिफारिस भएकाहरूको अवधि ४५ दिन भइसेकपछि राष्ट्रपतिबाट यही असार १० गते विभिन्न संवैधानिक निकायमा २० पदाधिकारीलाई नियुक्ति भएको थियो । नियुक्त भएका ती पदाधिकारीले नियुक्त पाएका दिनमा नै शपथ खाई काम शुरू गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्