सवारी साधन दुई महिनापछि पुनः सञ्चालनमा



बैतडी (नेस) ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा बुधबारदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख २० गतेदेखि निषेधाज्ञा गरिएका कारण बन्द रहेका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आएका हुन् ।

बुधबारदेखि निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन पनि सञ्चालनमा आएका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

सवारी साधन सञ्चालन गर्दा अनिवार्यरूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिट क्षमताको आधामात्रै यात्रु बोक्न पाइने जनाइएको छ । उहाँले भन्नुभयो, ‘सार्वजनिक सवारी साधनका चालक र सहचालकको अनिवार्य एन्टिजेन परीक्षण गरेर मात्रै सवारी साधन सञ्चालन गर्न दिएका छौं”

जिल्लाभित्र स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्यरूपमा पालना गरेर सञ्चालनमा आएका भए पनि जिल्ला बाहिरका सवारी साधन भने सञ्चालनमा नआउने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

सवारी साधनहरू बिहान सात बजेदेखि बेलुका सात बजेसम्म सञ्चालनमा आउनेछन् भने रातीको समायमा भने रोक लगाएको छ । यस्तै तराईका जिल्लाबाट जिल्ला भित्रिने यात्रुहरूका लागि खोडपेमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण थालिएको छ । साथै भारतबाट भित्रिनेको पनि झुलाघाटमा पनि एन्टिजेन विधिबाट परीक्षण जारी रहेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै सबै पसलहरू बिहान सात बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा आउने भएका छन् । व्यापारीहरूको हरेक १५ दिन कोरोना परीक्षण गरिने समेत बताइएको छ । होटेल भने तत्कालका लागि सञ्चालन नहुने, तर होटेलहरूले होम डेलिभरी सेवा भने दिन सक्ने बताइएको छ ।

कोरोना भाइरसको संक्रमणदर घटेको भए पनि जोखिम कायमै रहेकोले केही खुकुलो गर्दै असार ३१ गतेसम्म लम्ब्याइएको छ । बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्