कोरोनाले सुत्केरीको ज्यान गयो



इलाम (नेस) ।

कोरोना संक्रमणबाट इलाममा मंगलबार एक जना सुत्केरीसहित दुई जनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–५ की ३१ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । उहाँले झापाको दमकस्थित ओम अस्पतालमा २५ दिनअघि बच्चा जन्माउनुभएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि गत असार तीन गतेदेखि लाइफलाइन अस्पताल दमकमा उपचाररत रहेको अवस्थामा मंगलबार उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारको क्रममा स्वास्थ्यमा सुधार आइरहेको अवस्थामा अचानक मंगलबार बिहानै स्वास्थ्य अवस्था कमजोर बनेको उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाइ छ । कोरोनाले सुत्केरी आमाको मृत्यु भए पनि बच्चाको भने कोरोना जाँच भएको छैन ।

यता अर्का एक मृतक भने सूर्योदय नगरपालिका १० का २५ वर्षीय पुरुष रहेका छन् । कोरोनाबाट मंगलबार मृत्यु भएका दुई जनासहित जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।

यता मंगलबार जिल्लामा २१ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा सातजना, रोङ गाउँपालिकामा पाँचजना, सूर्योदय नगरपालिकामा ६ जना, माई नगरपालिकामा दुई जना र चुलाचुली गाउँपालिकामा एक जनासहित २१ जना संक्रमित थपिएका हुन् ।

जिल्लामा कुल संक्रमितको संख्या १८ सय दुई पुगेको छ । यस्तै आज २७ जना निको भएका छन् । जिल्लामा अब सक्रिय संक्रमितको संख्या दुई सय ७१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्