बनेपामा आमा छोराको शंकास्पद मृत्यु, ‘हत्या गरेर भाग्ने प्रयासमा थिएँ, पक्राउ परें’



मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिका– ११ सिनागालमा आमा छोराको हत्या भएको १४ दिन पछि हत्या आरोपी महिलाका श्रीमान्ले आमा छोराकै हत्या गरेको स्विकारेका छन् । प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो । डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराकै हत्या आफूले गरेको स्विकारेका हुन् ।

‘पाँचखाल नगरपालिका घर भई बनेपा ११ मा डेरामा बसोबास गरी बनेपाको नालादोबाटोमा पसल गरी बस्ने ३० वर्षीया मनिषा कार्की घिमिरे (उपाध्याय) र उनको ६ वर्षीय छोरा युवान घिमिरेको रहस्यम मृत्युमा प्रहरीले अनुसन्धान गरिरहेको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले भन्नुभयो–‘मृत्युको खबर पाए लगत्तै प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरू गरेको थियो ।

घटनामा संलग्न भनिएका मनिषाका श्रीमान् कमल भनिने माधवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको थियो । असार १५ गते कमलले श्रीमती र छोराको आवेशमा हत्या गरेको स्विकारेका छन् ।’ हत्या गरिएको २४ घण्टासम्म शव व्यवस्थापन गर्न, घटना लुकाउन र आफू पनि फरार हुन अनेकन प्रयास गरेको तर नसकेपछि घटनाका बारेमा सार्वजनिक भएको घिमिरेले प्रहरीलाई बयानमा भनेका छन् ।

घटनाको केही दिनअघि नै कमल भनिने माधवप्रसाद घिमिरेको छटपटी थियो भने युवान र उनकी ममी मनिषामा पनि निराशा रहेको छिमेकीहरूले बताएका छन् । मनिषा र युवानको टिकटक भिडियोले पनि केहि घटनाका संकेत गरेको भए पनि श्रीमान्बाटै मनिषा र युवानको हत्याको आशंका कसैले गरेका थिएनन् ।

प्रेम विवाह गरी भारतको आसामबाट काभ्रेको धुलिखेल आएका कमल र मनिषा एक अर्कालाई धेरै मन पराउने भए पनि पछिल्लो समय कमलको अर्की युवतीसँग चलेको प्रेम चक्कर, मोवाइलमा खेलिने गेमबाट लागेको ऋण र अन्य कारणबाट सम्बन्धमा दरार उत्पन्न भएको थियो । श्रीमान् श्रीमतीकै अलग अलग फेन्सी पसल भए पनि कमल भनिने माधवप्रसाद घिमिरेले पछिल्लो समय पसलमा भन्दा अन्यत्र समय दिन थालेको आशंका परिवारका सदस्यहरूले गरेका थिए ।

बनेपा नगरपालिका वडा नम्वर ११ सिनागालस्थित बानियाँ टोलमा १० महिनाअघि डेरा सरेका कमलले असार दुई गते मनिषा र युवानको हत्या गरेका थिए । हत्याका बारेमा अझै थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्ट, भिसेरा लगायतका अन्य परीक्षणका प्रमाणहरू जुटिसकेका छैनन् । प्रहरीले हत्या गरेको स्विकार्नुअगावै त्यसको तथ्य प्रमाणहरू संकलन गरिसकेको थियो । अझै अनुसन्धानमै रहेको प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनुभयो ।

असारत तीन गते बिहानै सुत्ने कोठामा ताल्चा लगाएर कमल पसल खोल्न भन्दै निस्किएका थिए । दिनभर मनिषाको मोवाइल फोन नउठेको र मनिषा पनि कतै फेला नपरेपछि राति आठ बजे कमलमाथि शंका गर्दै हत्याको आशंका गरेका थिए । हत्या भएको सूचना चुहिएको डरले कमल भागेका थिए । भाग्दै गरेका कमललाई प्रहरी र स्थानीयको सहयोगमा पक्राउ गरी अस्पताल पु¥याइएको थियो ।
१३ दिनको उपचार पछि उनी डिस्चार्ज भएका थिए । बयानको क्रममा उनीहरूलाई मारेर आफूले पनि धेरै चक्की सिटामोल खाएको बताएका छन् ।

शंकास्पद घटनाका बारेमा प्रहरीले नजिकबाट प्रमाणहरू संकलन गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोईरालाले बताउनुभयो । माइती पक्षका मनिषाका दाजु टिकाराम कार्कीले प्रहरीलाई टेलिफोनबाट निष्पक्ष छानविनको माग गरेका छन् । कोरोना भाइरसका कारण भएको लकडाउनका कारण तत्कालै घटनास्थलमा आउन नसक्ने बताउँदै टिकारामले शवको अन्त्येष्टी र नेपालको प्रचलित कानुनअनुसार दोषीलाई हदैसम्मको कारवाही र अनुसन्धानमा कमी हुन नदिन अनुरोध गरेका छन् ।
मनिषा र युवानको अन्त्येष्टी भएको छ । मनिषाका ससुरा ८२ वर्षीय शान्तप्रसाद घिमिरेले दागबत्ती दिएर किरिया गर्नुभएको छ । उहाँकै जाहेरीका आधारमा प्रहरीले कमल भनिने माधवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्