दक्षिण अफ्रिकामा निजी सुरक्षाप्रति बढ्दो विश्वास



जोहानेसवर्ग,(एजेन्सी) ।

दक्षिण अफ्रिकाको जोहान्नेसवर्गमा रात पर्ना साथ निजी सुरक्षा गार्डहरू क्यामोफ्ल्याग पोशाक लगाएर र गोली भरिएका राइफल बोकेर नियमित गस्तीमा निस्कन्छन् ।

निजी सुरक्षा गार्ड कम्पनीको हेड क्वार्टर बनाइएको जिमहलमा कमान्डरले अघिल्लो १२ घन्टाको ड्युटटीबारे पुनरावलोकन गरेपछि गस्तीमा निस्कन लागेका सुरक्षाकर्मीहरूलाई ब्रिफिंग गर्छन् । कमान्डरले हातमा आफ्नो टोपी लिँदै लाइनमा उभिएका सबैलाई गम्भीर आवाजमा सोध्छन् , ‘कुनै प्रश्न बाँकी छन् ? ’

त्यसपछि उनले स्थानीय छोसा भाषामा भन्छन्, ‘ल , ठीक छ । त्यसो भए अब सबैले टाउको निहुराएर प्रार्थना गरौं । तिनीहरूले कम्पनीको नाम ‘कोट्र्याक ’ लेखिएको तथा कालो र पहेंलो रंङ पोतिएको पिक अप ट्रकहरूमा आफ्ना हतियारहरू राख्छन् । कोट्र्याक दक्षिण अफ्रिकाकै सुरक्षा प्रदान गर्ने नामुद निजी कम्पनी हो ।

आफ्ना साथीहरू ट्रकमा चढेको हेर्दै ४६ वर्षीय फर्गेट लोभेले भन्छन् , ‘ हरेक बिहान म भगवानसँग प्रार्थना गर्दछुं । यो काम निकै खतरनाक छ । म काम सकाएर घर फर्कन्छुं कि फर्कन्न त्यसको ग्यारेन्टी हुन्न । तर, हाम्रो सेवाकै कारण अरूले खुशीयाली र ढुक्क भएर निँदाउने शान्ति पाएका छन् । प्रहरीमा भन्दा यस जागिरमा हामीले धेरै तलव पाउँछौं ।

कोट्र्याकका ट्रकहरू विद्युतीय गेट र अग्ला पर्खालमाथि पनि काँडेतार बेरिएका जोहान्नेसवर्गस्थित धनीहरूको घर बाहिर गस्ती गरिरहन्छन् । ती घरका सेक्युरिटी गार्ड तथा कामदारहरू पनि तिनीहरूतर्फ मुस्कुराउँदै हात हल्लाउँछन् । बेरोजगारको दर ३२ प्रतिशत रहेको दक्षिण अफ्रिकामा यो कामले युवावर्गलाई केही टेवा पुर्‍याइरहेको छ ।

यस कम्पनीमा जागिर खान सवारी चालक अनुमति , हातहतियार चलाउने तालिम र अपराधिक पृष्ठभूमि नरहेको प्रमाण पत्रको आवश्यकता हुन्छ । जोहन्नेसवर्गमा डकैती तथा कार चोरी लगायत अन्य अपराधको विगविगी छ । निजी सुरक्षामा काम गर्नेहरू आफूहरूलाई समाजमा मानिसहरूले प्रहरीलाई भन्दा बढी सम्मान र माया गर्ने गरेकोमा गौरव महसुस गर्छन् ।

प्रतिक्रिया दिनुहोस्