भाञ्जाहरुको कला उत्कृष्ट



हेटौंडा, (नेस)।

केही समयअघिदेखि सामाजिक संस्था मामाघरमा आश्रित भाञ्जाहरू चित्रकलामा अब्बल ठहरिन थालेका छन्। मामाघर नेपाल मकवानपुरका भाञ्जाहरू प्रशान्त तामाङ र छिरिङ लामा जनप्रिय माविको दिव्यसेवा बाल बगैंचाले आयोजना गरेको खुला चित्रकला प्रतियोगितामा क्रमशः प्रथम र तृतीय भएका छन्।

आयोजकका अनुसार १३ जना सहभागी प्रतियोगितामा प्रथम भएका भाञ्जा तामाङले २ हजार र तृतीय भएका लामाले १ सय नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। ‘भाञ्जाहरूको यो उपलब्धिले हामीलाई थप हौसला मिलेको छ,’ मामाघर प्रमुख संरक्षक अर्पण पराजुलीले भने ‘आश्रित बालकहरू मामाघरमा बसेर नाच, चित्रकला र गीतसंगीत पनि सिक्छन्।’

मामाघरले हेटौंडामा सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सेवा तथा सुविधा, शिक्षा, स्वास्थ्य र परिवारिक पुनस्र्थापना गर्दै आएको छ। दातृ निकायबाट हुने सहयोग र एक व्यक्ति, एक ईंट्टा अभियानबाट हेटौंडा–११ मा मामाघर भवन निर्माण गरिएको पराजुलीले बताए। पूर्वसडक बालबालिकाको आपत्कालीन राहत, उद्धार, परामर्श, पारिवारिक वातावरणमा आवासीय सुबिधा, सिप, शिक्षा र पारिवारिक पुनर्मिलनमा गराउने कार्य मामाघर नेपालको अभियान हो।

प्रतिक्रिया दिनुहोस्