धुलिखेल बन्द हड्ताल मुक्त शहर घोषणा



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिकाले नगर सभाको नवौं अधिबेशन बजेट, नीति तथा कार्यक्रम, विधेयक र विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । असार ७ गते शुरु भएको अधिबेशनका तीनवटा बैठक आयोजना गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । अधिबेशनमा प्रस्तुत नगरपालिकाका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट सर्वसम्वत पारित भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । प्रस्तुत भएका विधेयकहरुमा पनि सभाका सदस्यहरुले धारणा राखेका थिए ।

अधिबेशनको तेश्रो बैठकमा सदस्यहरुले शुन्य समय उपलब्ध गराईएको थियो । शुन्य समयमा आनन्द सागर यगोल श्रेष्ठ, गणेश आचार्य, मन्दिप गौतम र हिरा तामाङले नगरपालिकाले गरिरहेका गतिविधिहरु मार्फत नागरिक लाभान्वित भएको बताउनु भयो । अधिबेशनको तेश्रो बैठकले धुलिखेल नगरपालिकाको सार्वजनिक निजी साझेदारी (योजना संचालन तथा ब्यवस्थापन) विधेयक २०७८, नगरपालिकाको सूचना तथा अभिलेख केन्द्र (स्थापना र संचालन) विधेयक २०७८, धुलिखेल नगरपालिकाको आन्तरिक कार्यप्रणाली (ब्यवस्थापन र नियन्त्रण) विधेयक २०७८ र धुलिखेल नगरपालिकाको सरसफाई तथा फोहोरमैला ब्यवस्थापन विधेयक २०७८ सर्वसम्वतीले पास गरेको छ । नगरपालिकाले चार वर्षको अवधीमा ७० वटा भन्दा धेरै विधेयक, कार्यविधि र कानुन निर्माण गरिसकेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताउनु भयो ।

त्यस्तै शुन्य समयमा उठेका विषयमा नगर प्रमुख अशोक ब्याञ्जुले जवाफ दिनु भएको थियो । चार वर्षमा भएका काम सन्तोषजनक रहेको र आगामी वर्ष विनियोजन भएका योजनाहरु समयमै कार्यान्वयन गरिसक्ने बताउनु भयो । एक घर एक धाराको कार्य अन्तिम चरणमा पुगेको बताउँदै नगर प्रमुख ब्याञ्जुले समाजबाद उन्मुख विकासका कार्यहरु शुरु गरेको बताउनु भयो । शिक्षाको स्नातक तहसम्म निशुल्क, नागरिकहरुलाई घर दैलो सेवा तथा दुखसुखममा नगरपालिका अभिभावक बनिरहेको बताउँदै महत्वकाँक्षी केहि योजनाहरु आगामी वर्ष शुरु हुने बताउनु भयो ।

स्वास्थ्य विमा, निशुल्क डाईलोसिस सेवा तथा स्वस्थ शहर निर्माण, प्रविधि सहितको सेवामा नगरपालिकाले नागरिकहरुको आयआर्जनमा ध्यान दिएको उहाँले बताउनु भयो । अधिबेशनमा नगर उपप्रमुख विमला शर्माले महिला तथा विपन्न नागरिकहरुका लागि नगरपालिकाले सहजिकरण गर्दै सेवा उपलब्ध गराएको बताउनु भयो । नगर सभाको अधिबेशनले विशेष १२ वटा प्रस्ताव पास गरेको छ ।

उद्योग सञ्चालन गर्न लिजमा जग्गा उपलब्ध गराउने, लिक्वीड ग्यांस उद्योग स्थापना, मञ्जुश्री पार्क तथा तामाङ संग्रहालय निर्माण, धुलिखेल, श्रीखण्डपुर र ईटेलाई बिशेष संरक्षित क्षेत्र बनाउने, श्रीखण्डपुरको २०३४ सालको नापीमा नापी हुन छुट जग्गाहरुको नापजाँच गर्ने सम्बन्धमा, वि.पि.हाईवेको दायाँ बायाँ १०–१० मिटर मुआब्जा सहितको अधिग्रहण सम्बन्धमा, पर्यटकमैत्री शहर घोषणा र सोको कार्यक्रम सम्बन्धमा, सूर्यविनायक देखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण गर्ने, धुलिखेलको उपयुक्त स्थानमा स्मार्ट प्रबिधि सहितको कृषि उपज बजार स्थल निर्माण गर्ने, धुलिखेल नगरमा ब्यवस्थित बधशाला निर्माण, धुलिखेल नगरमा माउण्टेनियरिङ स्पोर्टस् सेन्टर निर्माण र धुलिखेल नगर क्षेत्रलाई सबै प्रकारका बन्द हड्ताल मुक्त शहर घोषणा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्