रुपन्देहीमा एक साता निषेधाज्ञा थपियो, जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने, भाडा ५० प्रतिशत वृद्धि



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमवार बसेको बैठकले निकै खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । जोरविजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनु भयो ।

केहीबेर अघि यातायात व्यवसायीसँग बैठक बसी सम्पूर्ण मापदण्ड अपनाउँदैं सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको भएको छ । त्यस्तै बैठकले सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा नीजि सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

उक्त निषेधाज्ञाको अवधि रातीदेखि सकिन लागेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो । थपिएको निषेधाज्ञामा ११ बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । अन्य सार्वजनिक मापदण्डको हमा भने यसअघि नै लिइएका निर्णयहरु कार्यान्वयन हुने प्रजिअ तामाङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्