नाट्यकर्मीलाई खोप माग



नेपालभरिको नाट्यकर्मीको छाता संस्था नाट्यकर्मी महासंघले देशका नाट्यकर्मीका लागि खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष राजेन्द्र रिमालले स्वास्थ्य हरेक नागरिकको संविधानप्रदत्त मौलिक हक भएकाले विश्वव्यापी महामारीका रुपमा आएको कोभिडको विरुद्ध लगाइने खोप नेपाली नाट्यकर्मीलाई पनि प्राथमिकताका साथ उपलब्ध गराइदिन जोडदार माग गरिएको हो। महासंघले नेपाली नाट्यकर्मीले हरेक विपतमा राज्यलाई सहयोग गर्दै आइरहेको र अहिले कोभिड प्रभावित क्षेत्रमा अक्सिजन सिलिन्डर, मास्क, पीपीई, स्यानिटाइजरलगायत खाद्यान्नसमेत स्वतःस्फूर्त रूपमा उपलब्ध गराएको तथा हालै गएको बाढीपहिरो पीडितहरूलाई पनि आवश्यक सहयोग पु¥याउँदै आएको समेत स्मरण गराएको छ।

त्यस्तै, कोभिड—१९ का कारण बन्द गरिएका नाट्यशालालाई अन्य क्षेत्रलाई जस्तै स्वास्थ्य सावधानी अपनाएर सञ्चालन अनुमति प्रदान गर्नसमेत माग गरिएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पेसागतरूपमै नाटकमा आबद्ध नाट्यकर्मीको विगत लामो समयदेखि पेसा खोसिएर बस्नुपरेको छ। जसले जीवनयापनमा नै कठिनाइ उत्पन्न भएको छ। अतः नाट्यशाला खोलेर नाट्यकर्मीको जीवन सहज बनाउन समेत माग गरिएको छ। त्यसका लागि पनि सम्पूर्ण नाट्यकर्मीहरू तथा आमनागरिकहरूलाई खोपको व्यवस्थापन गर्नु अपरिहार्य भएकोले शिघ्र खोपको माग गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्