पल र प्रकृति आठ वर्षपछि सँगै



लोकपप गायक सुनील गिरीको चर्चित गीत को होला त्योको फिमेल भर्सन म्युजिक भिडियोसहित रिलिज गरिएको छ।सुनीलको यो गीत पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीले गाएकी छिन्।

सार्वजनिक गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको छ। निषेधाज्ञाअघि कालिञ्चोक, चरिकोट मुडेलगायतका रमणीय स्थानमा छायाँकन गरिएको गीतको म्युजिक भिडियोमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठले अभिनय गरेका छन्।

गायक गिरीले आठ वर्ष अगाडि पल र प्रकृतिलाई नै लिएर को होला त्यो बोलको गीतको म्युजिक भिडियो तयार पारेका थिए। जुन गीतले चर्चा कमाएको थियो। आठ वर्षपछि सोही टिम दोहोरिएको म्युजिक भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गरेका छन्। अनिल कृष्ण मानन्धरको छायाँकन र निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन्।

म्युजिक भिडियो गायक गिरीकै अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ। सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगद पुरस्कार उपलब्ध गराइने गायक गिरीले जानकारी गराएका छन्। टिकटकमा आएको सर्वाधिक भ्युज, लाइक र कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण युनिटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्