बेनी नगरपालिकाद्वारा ६६ करोड बजेट सार्वजनिक, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रलाई जोड



प्रताप बानियाँ, म्याग्दी ।

‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित म्याग्दीको बेनी नगरपालिकाले ६६ करोडको बजेट ल्याएको छ । नवौं नगर सभामार्फत बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल ६६ करोड पाँचलाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । नगरसभामा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले उक्त रकम बराबरको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारबाट प्राप्त अनुदानमध्ये समानिकरणतर्फ १२ करोड ८० लाख, राजश्व बाँडफाँड आठ करोड आठलाख ८५ हजार, सशर्त ३१ करोड २९ लाख, विशेष दुई करोड ६१ लाख र समपुरक बजेट एक करोड १५ लाख रुपैयाँ रहेको बेनी नगरपालिकाले जनाएको छ ।

यसैगरी प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये समानिकरणतर्फ एक करोड ५० लाख ७६ हजार, राजश्व बाँडफाँडमा एक करोड ४९ लाख छ हजार, विशेषतर्फ ५० लाख, समपुरक दुई करोड र अल्या चार करोड १२ लाख रुपैयाँ बजेट रहेको उपप्रमुख बरुवालले पेश गरेको बजेट बक्तव्यमा उल्लेख गरिएको छ । कुल बजेटको चालु खर्चतर्फ ४२ करोड ७८ लाख ८२ हजार रकम विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २३ करोड २६ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाले कर राजश्वअन्तर्गत एक करोड ६२ लाख ५० हजार तथा गैरकर राजश्वअन्तर्गत दुई करोड ४९ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

नगरसभामा पेश गरिएको बजेटमध्ये पूर्वाधार विकासको क्षेत्रमा कुल तीन करोड ५० लाख, सामाजिक विकास क्षेत्रमा एक करोड ७५ लाख, आर्थिक विकासमा एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ लाख, संस्थागत विकास तथा सुशासनतर्फ ३० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बरुवालले बताउनुभयो । १० वटा वडा रहेको बेनी नगरपालिकाको १, ४, ६ र १० नम्बर वडालाई ६५ लाखका दरले, २, ३, ५ र ९ नम्बर वडालाई ७० लाखका दरले तथा ७ र ८ नम्बर वडालाई ६०÷६० लाखका दरले कुल छ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि ५० लाख, वर्षाले प्रभावित पारेका सडकको स्तरोन्नति गर्न ७० लाख र नगरका विविध कार्यक्रम सम्पन्न गर्न समपुरक कोषमा तीन करोड ८५ हजार बजेट छुट्याइएको छ । प्रस्तुत बजेटमा कृषि उत्पादन, गरिबी न्युनीकरण, व्यवसाय प्रवद्र्धन, आवासविहिनको घर निर्माण, विपद्मा परेकालाई तत्कालै उद्दार तथा राहतका साथै भूगोल र जनसङ्ख्याको आधारमा वडालाई बजेट विनियोजन गरिएको उपप्रमुख बरुवालको भनाइ छ ।

यसअघि नगरसभामा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आगामी आवको लागि आर्थिक तथा सामाजिक क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार विकास, सुशासन तथा सेवा प्रवाह, अनुगमन र मूल्याङ्कन शीर्षकअन्तर्गत विभिन्न नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले कोरोना रोकथामको कार्यलाई थप व्यवस्थित बनाउने, सङ्घीय सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित आर्थिक समृद्धिका क्षेत्रलाई प्राथमिकता दिइने, नगर क्षेत्रको कृषिलाई आधुनिकीकरण र विविधिकरण गरी व्यावसायिकरणमा प्राथमिकता दिनुका साथै नगर क्षेत्रका पर्यटकीयस्थलको विकासमा जोड दिइने बताउनुभयो ।

प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि आउँदो आइतबारको नगरसभाको वैठकमार्फत छलफल गरी आवश्यक संशोधनसहित पारित गर्नेगरी नगरसभा स्थगित भएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ  । पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्