वैकल्पिक सिकाईलाई निःशुल्क इन्टरनेट



अमृत अर्याल, स्याङ्जा ।

जिल्लाको मध्यभागमा अवस्थित भीरकोट नगरपालिका अन्तर्गत ५ नं वडाले वैकल्पिक शिक्षा प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरणका लागि इन्टरनेटको ब्यवस्था मिलाइदिने भएको वडाध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले बताउनुभयो । विश्वव्यापी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को संक्रमणका कारण विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित भएकाले वडा शिक्षा समितिको बैठकबाट वैकल्पिक विधिबाट पठनपाठनलाई जोड दिने गरी विद्यार्थीको घर–घरमा इन्टरनेट जडान गर्न सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

“विद्यार्थीलाई प्रविधिमैत्रीसँगै वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि अभियानको रुपमा अगाडि बढेका छौँ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “कोभिडको पहिलो र दोस्रो लहरबाट शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावित पारेका बेला फेरि तेस्रो लहर आउने भन्ने कुरा सुनिएकाले त्यसको पूर्वतयारी स्वरुप वैकल्पिक विधिलाई थप प्रभावकारी बनाउनका लागि इन्टरनेट जडान गरिदिने निर्णय गरेका हौँ ।”

इन्टरनेट जडानका लागि वालिङ्ग ईन्टरनेट सेवाप्रदायक संस्थाको रुपमा रहेको छ । यो अभियान प्रभावकारी हुनेमा वडा कार्यालय विश्वस्त रहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । यस वडाभित्र ४ वटा सामुदायिक विद्यालय रहेका छन् । “यसअघि भएका भर्चुअल कक्षा सञ्चालनका क्रममा कतिपयमा इन्टरनेटको असुविधाका कारण मोबाइलको डाटा चलाउनुपर्ने बाध्यता रहेको गुनासो सुन्यौँ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “डाटाबाट नेट ढिलो चल्ने भएकाले पठनपाठन प्रभावकारी र उपलब्धीमूलक हुन सकेन, त्यसैले अब वडा कार्यालयले अति विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिदिने तयारीमा छौं ।”

प्रतिक्रिया दिनुहोस्