ह्विल चेयरमा बस्न सक्ने भइन् निशा



दुर्घटना भएको तीन वर्षसम्म उपचार नपाएर थला परेकी अभिनेत्री तथा मोडल निशा घिमिरेलाई नर्भिक अस्पतालले उद्धार गरी उपचार गरेपछि उनको स्वास्थ्यमा यथेष्ट सुधार आएको छ। उपचारपछि निशा सामान्य प्रतिक्रिया जनाउन र ह्विचेयरमा बस्न सक्ने भएको अस्पतालले जनाएको छ। उपचार अभावमा ३ वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। घिमिरेको नर्भिक अस्पतालककी प्रबन्ध निर्देशक मेघा चौधरीले गत जेठ २७ गते उद्धार गरेकी थिइन्। हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ। उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो। अस्थिपञ्जर मात्रै बाँकि रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ। अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट उनको उपचार
गरिरहेको छ।

डा. पंकज जलान नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ। अस्पतालमा पुग्दा जिउँदो लासजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन्। बोलाउँदा र केही सोध्दा बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रियासमेत दिन थालेकी छिन्। उनले पछिल्लो समय बोल्नेसमेत कोशिस गरिरहेकी छिन्। उपचारका संलग्न स्वास्थ्यकर्मीहरूका अनुसार निशा भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन्। ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ’ उपचार संलग्न चिकित्सहरू भन्छन्– ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ।’
उनले सोझै खाना खान भने सकेकी छैनन्। उनलाई पाइपमार्फत खाना दिने गरिएको छ।डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताए। उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत जानकारी गराएका छन्। जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्णरूपमा नर्मल हुने सम्भावना भने न्यून छ। ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’ डा. जलानले भने– ‘तर, आएको बेलाको तुलनामा घाउहरू निको हुन थालेका छन्। हामीले डाइट र थेरापीमा फोकस गरेका छौं। प्रोटिन, क्यालोरिज प्रशस्त दिइरहेका छौं। अहिले ह्विल चेयरमा समेत बसाउन शुरू गरेका छौं।’ उनका अनुसार निशाको अवस्थालाई जनरल कन्डिसन इम्प्रुभ भएको अवस्थाको रूपमा बुझ्न सकिन्छ।

घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो। निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन्। तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएकी उनी त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्। दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार मह”गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए। काठमाडौं ल्याएर ट्रमा सेन्टरमा राखी तीन महिनासम्म उपचार गरिए पनि उनको अवस्थामा सुधार हुन सकेको थिएन। त्यसपछि, चिकित्सकहरूकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरमा उनको लगातार थेरापी गरिएको थियो। नियमित थेरापी गर्न आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमणसमेत बढेपछि उनी घरमै

थन्किएकी थिइन्।
दुर्घटनाको करिब तीन वर्षपछि मात्र निशाको अवस्थाबारे खबर बाहिर आएपछि उनलाई आर्थिक सहयोग गर्नेहरूको समेत लहर नै चलेको छ। उनको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम धमाधम जम्मा भइरहेको उनको उद्धारका लागि समन्वय गरेका समाजसेवी दुर्गानाथ दाहालले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्