पिपिई सेटमा आफै ‘शंकास्पद कोरोना सङ्क्रमित’को शव बोक्दै वडाध्यक्ष तिमिल्सिना



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कोरोना संक्रमितको निधन भएपछि नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । तर कतिपय गाउँमा सेनालाई बोलाउन कठिन छ । अझै परिवारका सदस्यमा संक्रमण पुष्टि भएपछि कोरोना परिक्षण नगरेका बिरामीको मृत्यु भएपछि दाहसंस्कार गर्न झनै जोखिमर्पुण छ । यस्तो अबस्थामा आफन्तहरु समेत शव छुन डराउने गरेको बेला पर्वतका एक जना वडाध्यक्ष भने मृतकको शव व्यवस्थापनमा सक्रिय छन ।

पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाले शनिबार एक जना बृद्धको शव आफै पिपिई सेट लगाएर घाट तर्फ लगेको तस्बीर अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ । मोदी गाउँपालिका वडा नं ७ घर भै हाल पातीचौर बजारमा बस्दै आएकी अन्दाजी ७५ बर्षिया महिलाको मृत्यु भएपछि आफन्त र छिमेकीले शब छुन कठिन भएको अबस्थामा अध्यक्ष तिमिल्सिनाले पातीखोला र मोदीखोलाको दोभानमा रहेको घाट सम्म पिपिई सेट लगाएर बोक्नु भएको थियो । मृतकका नाति र अध्यक्ष तिमिल्सिनाले शब खोलामा शव लानु भएको थियो ।

मृतक महिलाको यस अघि गरिएको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको थियो भने छोरा, बुहारी र नाती सहित ४ जनामा संक्रमण पुष्टि भएको छ । मृतकमा पनि रिर्पोट नेगेटि आएपनि संक्रमणको आशंका गरिएकोले शब बोक्न र बाँध्न समस्या भएपछि आफुँलाई खबर आएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । ‘शव व्यवस्थापन का लागि खबर आएपछि म आफै पुगेर शव घाटसम्म लगेको हो ’ उहाँले भन्नुभयो ‘मैले दुई डोज खोप लगाएको कारण पनि आत्मबल बढेको हुँदा शव व्यवस्थापनमा लागेको हुँ ।’

नजिक जान कोही पनि नमान्ने भएकाले शव ब्यबस्थापन गर्न लागेको उहाँको भनाई छ । मृतकको गाउँ राम्जाबाट दाजुभाईहरु पनि आउन सकेका थिएनन । मृतकमा कोरोना संग मिल्दोजुल्दो लक्षण भएकोले शुक्रबार परिक्षण गर्ने तयारी भएपनि परिक्षण भने हुन सकेको थिएन ।

वडाध्यक्ष तिमिल्सिना यस अघि प्रहरी सेवामा हुनुहुन्थ्यो । उहाँले पर्वत लगायतका स्थानमा ट्राफिक प्रहरीको प्रमुख हुँदा पनि नमुना काम गरेर चर्चामा आउनुभएको थियो । अध्यक्ष तिमिल्सिनाका बुवा स्व. गुरुदत्त तिमिल्सिनाले गाउँ पञ्चायतको प्रधानपञ्च हुँदा आफ्नो खेत बेचेर मोदीखोलामा पुल निर्माण गर्नुभएको थियो । सामाजिक सञ्जालमा ‘जस्तो वाउँ, उस्तै निस्के छोरा’ भने तिमिल्सिनाको चर्चा पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्