दलित भन्दै कोठा भाडामा दिन नमान्ने घरबेटीविरुद्ध पत्रकार सुनारकाे जाहेरी



न्युज अफ नेपाल, काठमाडौं ।

दलित भन्दै कोठा भाडामा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । पत्रकार रुपा सुनारले काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ बर्षीय घरबेटी सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बिहीबार जाहेरी दर्ता गराएकी हुन् ।

घरबेटी प्रधानले दलित भएकै कारण कोठा भाडामा दिन अस्वीकार गरेको भन्दै पत्रकार सुनारले जाहेरी दर्ता गरेको बताइन् । सुनार सामाजिक सञ्जालमा लेख्छिन्, ‘‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भएँ । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ ।’

घरबेटी प्रधानले सबै कुरामा सहमत भएपनि दलित भन्ने थाह पाएकै कारण कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् । प्रधानले जातकै कारण कोठा दिन नसक्ने भन्दै सुनारलाई टेलिफोनमार्फत् जानकारी गराएको पीडित सुनारले बताइन् । घटनापछि आफूमाथि विभेद भएको भन्दै पत्रकार सुनारले उक्त घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्