बाढीले सेतिबेणी बजारका ८ घर बगायो



अमृत अर्याल, स्याङ्जा ।

जिल्लाको सेतिबेणी बजार नदी कटानको उच्च जोखिममा परेको छ । कालीगण्डकी ए बिद्युत परियोजनाका लागि बनााइएको तटबन्धका कारण बजार डुबानमा परेको हो । अबिरल बर्षासँगै आएको बाढिले स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ५ सेतिबेणी बजारका ८ घर बगाएको छ । कालिगण्डकी नदीको बाढि बजारमा पसेको छ ।

जसको कारण ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुशार स्थानीय केश वहादुर क्षेत्री, केशवराज न्यौपाने, ठाकुर प्रसाद श्रेष्ठ, रेशमराज न्यौपाने, लक्ष्मीपती न्यौपाने, गुरु बहादुर क्षेत्री, तेजराम काफ्ले र त्रिबिक्रम हेजुको घर बाढिले क्षतीग्रस्त बनाएको हो ।

८ घरका २४ जना परिवार बिस्थापित भए पछि उनीहरुलाई उद्धार गरी नजिकैको बिद्यालयमा राखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । बजार क्षेत्र जोखिममा परेपछि कतिपयले घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । ‘बस्ती जोखिम भएकाले सुरक्षित स्थानमा बस्न भनेका छौं,’ गल्याङ्ग नगरपालिकाका प्रमुख भूपराज अधिकारीले भन्नुभयो, ‘तत्काल उद्धारमा खटिन समेत नसकिने अवस्था भएपछि सुरक्षित बस्न भनेका छौं ।’

त्यस्तै जिल्लाका सबै ग्रामिण सडकहरु पनि अवरुद्ध भएको प्रहरीको भनाई छ । बाढीले पैदल तथा मोटरबाटो क्षतविक्षत बनाएको भीरकोट ५ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउनुहुन्छ । जिल्लामा हरेक वर्ष बाढीपहिरोबाट ठूलो धनजनको क्षति हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल जिल्लाका ११ पालिकामध्ये कालीगण्डकी गाँउपालिका, गल्याङ्ग र वालिङ्ग नगरपालिका बाढीपहिरोको उच्च जोखिममा रहेको बताउनुहुन्छ । जिल्लामा ठाडा खहरे खोला अधिक रहेकाले पनि जोखिम उच्च रहेको प्रजिअ नेपालको बुझाइ छ । आँधिखोला र कालीगण्डकी नदीको तटिय क्षेत्रमा जोखिम उच्च छ ।

गत बर्ष वालिङ्ग नगरपालिकाको तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जनको ज्यान गएको थियो । केही दिन अघिमात्रै सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्लाको भालुपहाडमा खसेको पहिरोले २ दिनसम्म यातायात अबरुद्ध हुन पुग्यो । विपद्पूर्वको सचेतनाका लागि सञ्चार माध्यमको प्रयोगदेखि स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरिएको जिल्ला विपद् व्यवस्थापन समितिको दाबी छ । विपद्को सामना गर्न गाउँका प्रहरी चौकी र सदरमुकामका सेना, सशस्त्र र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखिएको प्रजिअ नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्