तिलोत्तमाको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र मुख्य प्राथमिकतामा



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर : खुशी नगरबासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण; युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी; जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण; र महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको उहाँले स्पष्ट पार्नुभयो । दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भैरहँदा ल्याइएको नीति तथा कार्यक्रममा तिलोत्तमाले सबै नगरबासीलाई छिटोभन्दा छिटो कोरोना खोपको पहुँचमा पुर्याउन कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।

सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिक तथा अपाङ्गहरुको आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा तिलोत्तमाले नीति तथा कार्यक्रममार्फत् गरेको छ । कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने, आर्थिक रुपमा विपन्न नगरबासीको स्वास्थ्य उपचारको लागि ‘नगर प्रमुख विपन्न नागरिक सहायता कोष’ स्थापना गर्ने, प्रत्येक स्वास्थ्य संस्थाहरुमा व्यवस्थित र सुविधा सम्पन्न खोप केन्द्र सञ्चालनको लागि पूर्वाधार निर्माण गर्ने, सबै सामुदायिक विद्यालयका बालबालिकाहरुको नियमित आँखा जाँचको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सामुदायिक विद्यालयहरुको साझेदारीमा थप ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय १० लाख विशेष अनुदान उपलब्ध गराउने नीति लिएको तिलोत्तमाले “ग” वर्गको पहेलो कार्ड प्राप्त गरेका तर कुनै सरकारी सुविधा प्राप्त नगरेका अपाङ्गता भएकाहरुलाई प्रोत्साहन स्वरुप वार्षिक ६ हजार सामाजिक सुरक्षाभत्ता दिने घोषाणा गरेको छ । तिलोत्तमाले ‘मेयर नगर आवास कार्यक्रम’ सञ्चालन गरी आगामी आर्थिक वर्षमा मापदण्डको आधारमा अतिविपन्न निश्चित वर्ग÷समुदायका ५० परिवारलाई घर बनाउन प्रतिघर रु २ लाख अनुदान उपलब्ध गराइने घोषणा गरेको छ ।

चालु आर्थिक वर्षमा कोभिड–१९ को कारण बन्दाबन्दी हुँदा व्यापार÷व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेकोले आगामी आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय कर तिर्दा व्यवसायीलाई तीन महिनाको कर छुट दिने, चालु आर्थिक वर्षमा सबै प्रकारका कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको ३ महिनासम्म कुनै प्रकारको हर्जाना नलिइने तथा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिने तिलोत्तमाको नीति रहेको छ । सबै वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायतका नगरपालिका मातहतका कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउनको लागि नगरपालिकाको आफ्नै अप्टिकल फाईबर सञ्जाल विस्तार गरिने पनि नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्