बाढीका कारण पर्वतमा ५० घर बिस्थापित



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कालीगण्डकी नदी र यसका सहायक नदी तथा खोलामा आएको बाढीका कारण पर्वतमा ५० भन्दा बढी घरपरिवार बिस्थापित भएका छन । बाढीको जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएको जिल्ल प्रशासन कार्यालय पर्वतले जनाएको छ । प्रहरीले जिल्लाभरको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । कालीगण्डकीको बाढीले पर्वत, स्याङ्गजा र गुल्मीको सिमानामा पर्ने पर्वतको बिहादी गाउँपालिका ६ सेतीबेणी बजारका दुई दर्जन घर परिवार बिस्थापित भएका छन । कालीगण्डकी नदीमा तीन दशक यताकै सबैभन्दा ठुलो बाढी आएका कारण बजार डुवानमा परेको छ ।

कालीगण्डकी किनारमा र यसहका सहायक नदी तथा खोला किनारमा खनिएका सडकका कारण हिलो र बगर बगेर आउँदा कालीगण्डकी जलबिद्युत केन्द्रको जलासयको सतह ४ मिटर भन्दा बढी बढेका कारण बजार डुवानमा परेको स्थानिय शिक्षक रबि भट्टराईले बताउनुभयो । पर्वतकै जलजला गाउँपालिका ८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिरोका कारण १८ घरपरिवारलाई मंगलबारदेखि नै सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिनुभयो । जलजला ७ धाइरिङमा दुई घर विस्थापित बनेको जलजला गाउँपालिकाले जनाएको छ ।

जलजलाका विभिन्न वडामा १ सय भन्दा बढी घर जोखिममा रहेका छन ।यस्तै पर्वतको महाशिला गाउँपालिका ८ घरपरिवार विस्थापित बनेका छन् । महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ ८ घर विस्थापित भएका छन् । महाशिला १ होश्राङदीको अर्गाउदीका पहलसिङ गुरुङको परिवार विस्थापित भएको छ ।

पाँचजना सदस्य रहेको उक्त परिवारलाई स्थानीय लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ । वडा नं.–३ बालाकोटको हिरुखर्कमा तीनजना सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं.–५ लुंखु देउरालीको ढाडाखर्कमा पाँच जना परिवार सदस्य रहेको आस बहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ ।यस्तै महाशिला वडा नं.–२ भोक्सिङमा दुई घर, वडा नं.–५ लंखुका तीन घर र वडा नं.–४ पाखापानीका दुई घर गरी कुल ८ घर विस्थापित बनेका हुन् ।

वर्षा नरोकिएकाले अझै ठूलो क्षति हुन सक्ने देखिएकाले सबैलाई सतर्क हुन आग्रह गरिएको उचैँले बताउनुभयो ।यसैगरी फलेवास नगरपालिका–३ शंकरपोखरीको रुग्दीमा पनि स्थानीय बुद्धि सागर रेग्मीको घर उच्च जोखिममा परेको छ । घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिरोका कारण घर बग्ने खतरामा परेको हो । वर्षा भएको बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकोमा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताउनुभयो ।

कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा पनि ठुलो भागमा पहिरो गएकाले केहि घर जोखिममा रहेको स्थानीय दया सुवेदीले जानकारी दिए । मोदी गाउँपालिकाको वडा नं. २ देउपुरमा ८ र वडा नं. १ भुकताङ्लेमा १ घर जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । वडा नं. ४ क्याङको ज्यामिरेमा एक घरमा पुर्ण क्षति पुगेको छ । परिवारलाई छिमेकीकोमा आश्रय दिएर सारिएको छ । त्यसैगरी वडा नं. ८ चित्रेमा २ घर विस्थापित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्