बनेपाको चण्डेश्वरी देखि गोसाईस्थानसम्म १६ सय सिंढीको शिल्यान्यास



मोतीराम तिमल्सिना,काभ्रे ।

बनेपा नगरपालिकाले चण्डेश्वरी मन्दिर देखी शहिद स्मारक हुँदै गोसाईस्थान सम्म एक हजार छ सय सिँढी निर्माण शुरु भएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले सिंढीको शिल्यान्यास गर्नु भएको छ । महामारीका बीच सिँढी निर्माणका लागि प्रारम्भ गरिएको छ ।

सिंढी शिल्यान्यास गर्दै नगर प्रमुख बादेले निर्वाचित भई कार्यारम्भ गरे सँगै अघि सारिएका बनेपाका गौरवका योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउनु भयो । चण्डेश्वरी जंगलमा पर्यापर्यटन प्रर्वद्धन गर्ने सिँढी निर्माण गरिएको सिंढी १ वर्ष भित्र पुरा हुने नगर प्रमुख बादेले वताउनु भयो । १ हजार ६ सय सिँढी, पार्क, शौचालय, ढुङ्गेधारा, स्वागत गेट निर्माण हुने नगर प्रमुख बादेले वताउनु भयो । उक्त सिँढी सगै नरले हिले जलजले बहुउपयोगी कृृतिम ताल निर्माण, पुण्यमाता करिडोर निर्माण, विभिन्न वडाहरुका लागि खानेपानी प्रबन्धका लागि अगाडि सारिएका योजनाहरु धेरै पुरा भएका छन भने कतिपय कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनु भयो । नगरमा बजार भित्र बाजे बज्यै पार्क निर्माण, सांस्कृतिक संग्राहलय निर्माण कार्य शुरु भएको र स्मार्ट सिटी कार्यक्रम अन्तर्गत बनेपा नगर क्षेत्र भित्रका ऐतिहासिक पाटीपौवा, पोखरी तथा धाराहरुको पुनर्निर्माण एवं जीर्णाेद्वारका कार्यक्रमहरु कार्यान्वयन भइरहेको बादेले बताउनु भयो । सिँढी निर्माणका लागि नगर क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा निर्वाचित पुर्व सांसद एवं मन्त्री गोकुल बास्कोटाले पर्यटन मन्त्रालयको बजेट विनियोजनका लागि पहल गर्नु भएको थियो ।

नगरबासीहरुको स्वास्थ्यमा ध्यान दिदै कोरोनाका माहामरीमा नगरबासीहरुको लागी ५० वेडको आईशोलेशन तयारी गरी गत वर्ष बाटै निशुल्क उपचार गर्दै आईरहेको र भोमी अस्पताल र शिर मेमोरियल अस्पताल सँग सहकार्य गरी नगरबासीहरुको उपचारमा कुनै कमी हुन नदिएको नगर प्रमुख बादेले बताउनु भयो । त्यसै गरी महिलाहरुको पाठेघरमा हुने क्यान्सर रोग रोकथाम तथा उपचारका लागि स्क्रिन गर्ने र रेयुकाई एईको मासुनागा अस्पतालसँगको सहकार्यमा मोतियाविन्दु विरामीहरुको निशुल्क शल्यक्रिया, नगर क्षेत्र भित्र रहेका बाबु आमा बिहिन बालबालिकाका लागि प्रदेश सरकारले उपलब्ध गराउने मासिक २ हजार रुपैयाँमा १ हजार नगरपालिकाका तर्फबाट थप गरी उपलब्ध गराईएको र १५ वेडको अस्पतालका लागी वडा नम्बर ४ नालामा निर्माण प्रकृया शुरु गरीएको, १४ वटै वडामा स्वास्थ्य चौकी भवन, वडा कार्यलय भवन निमार्ण गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा उप प्रमुख रेखा दाहाल सापकोटाले विकास सँगै नगरका जनताका आर्थिक स्तर उकास्नका लागी धान मकै क्रप कटिङ उत्पादनको अभिलेख तयारी गरिएको, माटोकोे परीक्षण, च्याउ खेतीको लागि कालो प्लाष्टिक वितरण, फलफुल तथा तरकारी बिउ वितरण, पशुंपन्छी सेवा तर्फ वोयर जातका वोका बितरण, गोठ सुधार कार्यक्रम, कृषकहरुलाई तालिम प्रदान, कृषि औजार वितरण, विभिन्न आयामुलक तथा शिपमुलक तालिम, कौशिखेती तालिम प्रदान गर्दै आएको उप प्रमुख सापकोटाले बताउनु भयो । सापकोटाले ऐतिहासिक सेतोपाटी पूर्वाधार निर्माण, चुनदेवी पालेको वन पिकनिक स्पोट, जलेश्वर मुङग्रेटार चुनदेवी पर्यटन मार्गको निमार्ण शुरु गरीएको वताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले सिँढीको कुल लागत ४ करोड ६५ लाख रहेको बताउनु भयो । नगरबाट १ करोड ३५ लाख तथा पर्यटन मन्त्रालय बाट ३ करोड ३० लाख लागतमा सिढी, पार्क, स्वागत गेट, टावरको मर्मत लगाएतका पूर्वाधारहरु निमार्ण हुने उप्रेतिले वताउनु भयो । उप्रेतीले कोभिडको महामारीमा समेत विकास निर्माणका कामहरुले गति लिएकाले समयमै सम्पन्न हुने बताउनु भयो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसी, वडा नम्वर ७ का अध्यक्ष वर्ण शाक्य, योजना अधिकृत शर्मिला बन्जाडे, जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्