सडक विस्तारले चकवाका स्थानीयको बिचल्ली



जलेश्वर ।

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँ बस्ने ७५ वर्षीया एकल महिला सखिया देवी हार गुहार गरे पनि उहाँको बिलौना कसैले सुनेन । करिब २० वर्षअघि पति गुमाएकी र सन्तानको कोही नभएकी सखिया विपन्न हुनुहुन्छ । गाउँघरमा सानो तिनो मजदुरी गरेर खाने सखियाले अहिले आफ्नो थातथल्लो समेत गुमाउनुपर्दा दिनरात रुने कराउने मात्र गर्नुभएको छ । खर र माटोले बनाएको सखियाको दुईकोठे घर एक झट्कामै भत्काइएपछि उहाँ विगत १२÷१५ दिनदेखि उहाँ घरबास विहीन हुनुभएको छ । सोही ठाउँ बस्ने रामकृपाल यादव छोरा, बुहारीसहित चार जनालाई नै कोरोना सङ्क्रमण भयो र घरमै आइसोलेशनमा बसिरहनुभएको थियो । उहाँको पनि चार कोठे कच्ची घरलाई डोजरले तानेर बाटोमा ल्याइदियो । अहिले सो परिवारका बिरामी तथा सबैको विचल्ली भएको छ ।

बिरामीले थलिएका ९२ वर्षीय बुवालाई झुप्रोमा सुताएका उहाँले बुवालाई पनि त्यहाँबाट निकाल्नुभयो । रामकृपालले देशमा निषेधाज्ञाको अवस्थाका कारण घरमा खानपानको समस्या रहेको र त्यसमाथि पनि परिवारका चार जना कोरोना सङ्क्रमित भएको अवस्थामा आएर आफ्नो घर भत्काइदिएको भन्दै बिलौना गर्नुहुन्छ । त्यस्तै अवस्था स्थानीय जितेन्द्र झाको पनि छ । उहाँले आफ्नो निजी र नम्बरी जग्गाभित्र निर्माण गरेको घर र घरसँगै निर्माण गरेको पक्की शौचालय एक्कासी आएको डोजरले भत्काइदिएर बाटोमा झारिदिँदा उनी सपरिवार समस्यामा परेका छन् ।

पिता पुर्खाको पालादेखि नै जोतभोग गर्दै आएको सडकभन्दा निक्कैभित्र रहेको आफ्नो नम्बरी जग्गामा बनाएको घर र शौचालयमा डोजर लगाएर भत्काइएपछि घरका सबै सदस्यलाई शौचालयको समस्या सिर्जना भएको जितेन्द्रले बताउनुभएको छ । त्यस्तै आफ्नो निजी जग्गामा फर्निचर उद्योग सञ्चालन गरेका स्थानीय कमलेश ठाकुरको उद्योगको एक चौथाई भाग पनि डोजरले सडकमा मिलाएको छ । उहाँले आफूले अमिन बोलाएर नाप जाँच गराइदिँदा पनि नमानेको र साबिकको सडकमा पर्याप्त ठाउँ हुँदाहुँदै पनि आफ्नो व्यक्तिगत जग्गामा जबर्जस्ती ठेलेर सडक निर्माण गरेको सुनाउनुभयो ।

उहाँले साविक सडकको बीचबाट दुवैतिर समानरुपमा सडक निर्माण गर्न अनुरोध गरेको तर त्यो नसुनेर आफू गाउँमा अल्पसङ्ख्यक भएकै कारण हेपिएको र सडक बनाउन पर्याप्तरुपमा सार्वजनिक जग्गा हुँदाहुँदै पनि केही व्यक्तिको स्वार्थ र रिसइबीका कारण आफ्नो व्यक्तिगत जग्गा हडपिएको दुखेसो गर्नुभयो । स्थानीय हरिओम यादवको पीडा पनि यस्तै छ । उनले साबिक सडकको दुवैपट्टि अझैपनि पर्याप्त जग्गा हुँदाहुँदै पनि व्यक्तिको जबरजस्तीले गर्दा आफूजस्ता दर्जनौ अल्पसङ्ख्यक र निमुखा जनताले दुःख पाएको बताउनुहुन्छ । आफ्नो व्यक्तिगत सम्पत्तिमा पाँचदेखि १० फिटसम्म बाटो विस्तार गरी क्षति पु¥याउँदा पनि बोल्न नपाएको र बोलेमा गाली बेइज्जति र कुटपिट सहनुपरको उनको दुखेसो रहेको छ ।

महोत्तरीको चकवा गाउँका स्थानीयको पीडा हो यो । चकवा गाउँदेखि छिमेकी गाउँ थरुवाहीसम्मको सडक ढलानका लागि यसरी उनीहरुका बासस्थान भत्काइएको छ । सो सडक विस्तार गर्दै पक्की ढलान गर्ने कार्यक्रम रहेकोले सडक छेउमा रहेका घर टहरा भत्काइएको छ । कोरोना महामारीका बेला जिल्लामा गत वैशाख २२ गतेदेखि नै जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ र यही समय पारेर सकड विस्तार गर्ने नाउँमा जथाभावी कयौँ व्यक्तिलाई घरबारविहीन बनाइएको स्थानीयको गुनासो छ ।

उनीहरुले चकवादेखि थरुवाहीसम्मको ५०० मिटर बाटोमा ढलान गर्ने कार्यका लागि जिल्लाको निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट निर्वाचित प्रदेश सभासदस्य रानी कुमारी तिवारीको रु २५ लाख बजेट सहयोगमा यो सडक निर्माणको काम थालिएको हो । स्थानीय नागेन्द्र यादवको अध्यक्षतामा उपभोक्ता समिति बनाएर गाउँमा सडक विस्तार र ढलान गर्नेकार्य भइरहेको छ । सडक विस्तार र निर्माणका लागि सार्वजनिक भेला गर्नुपर्ने, सबैको सहमति र सहकार्यमा योजना बनाएर सकभर कसैको व्यक्तिगत सम्पति नष्ट नहुने हिसाबमा जानुपर्नेमा यहाँ त्यसो नगरिएको पीडितको गुनासो छ ।

निर्माणाधीन चकवा थरुवाही सडक १८ फिट कायम गरिएको र गाउँमा सो सडक आऊजाऊ गर्न पर्याप्त रहेको अवस्थामा जबरजस्ती सो सडक विस्तारको काम थालिएको स्थानीय रामकृपाल यादवको गुनासो छ । पीडितले सकड विस्तार नै गर्ने भए साबिकको सडकको बीचबाट दुवैतिर समानरुपमा लिएर जाऊ भन्दा उपभोक्ता समितिले नसुनेको र एकतर्फी पूर्वपट्टिबाट मात्रै लिएर सडक निर्माण गरेको स्थानीय रामबाबु ठाकुरले बताउनुभयो । उपभोक्ता समितिले एकतर्फी ९पूर्वपट्टी मात्रै० सडक विस्तार गरेर दर्जनौँ व्यक्तिलाई घरवारविहीन बनाएको छ भने अर्कोतिर एक वर्गलाई सार्वजनिक जग्गा निजी बनाइदिएको स्थानीय कमलेश ठाकुरको आरोप छ ।

उता स्थानीय उपभोक्ता समितिका सचिव गणेश रायले आफू नक्साको आधारमा सडक निर्माण गर्न लागेको बताउनुभयो । उहाँले आफूहरु समाजकै मागअनुसार यस सडकलाई १८ फिटबाट २५ फिट विस्तार गरेर बनाएको र कसैको व्यक्तिगत जग्गा अतिक्रमण नगरेको सबै सार्वजनिक जग्गा नै रहेको दावी गर्नुभयो । एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला यादवले भने आफूले १७ फिटमा मात्रै ढलान गर्न र कसैको पनि व्यक्तिगत सम्पत्तिमा क्षति नपु¥याउन भनेको बताउनुभयो । प्रदेशसभा सदस्य रानी कुमारी तिवारीले भने आफूले जनताको मागअनुसार बजेट ल्याएर दिएको र राम्रो गुणस्तरीय सडक निर्माण गर्न भनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्