निषेधाज्ञालाई ‘शून्य समय’ मान्न आग्रह



lockdown stencil print on the grunge white brick wall

न्युज अफ नेपाल, हेटौंडा ।

कोभिडका कारण मकवानपुरमा जारी निषेधाज्ञालाई यहाँका उद्योगी/व्यवसायीले आफ्नो विविध कठिनाइका बाबजुद पनि स्वीकार गरेर पालना गरी सघाएका छन् ।तर, अनन्त अवधिको निषेधाज्ञा न देशले थेग्न सक्छ न त उद्योगी/व्यवसायी तथा सर्वसाधारणले । यसलाई गहिरो गरी आत्मसात् गर्नु जरुरी रहेको औंल्याइएको छ । मकवानपुरमा उद्योग वाणिज्य संघको अनुरोधलाई केही हदसम्म स्वीकार गरी यसअघि खुलिरहेका र केही थप व्यवसाय, खोल्ने समय अवधि थपसहित नयाँ निर्णय आएको छ ।

हेटौंडामा बैंकहरु दैनिकरुपमा खुल्ने भएका छन् । तर, खुल्न बाँकी व्यवसायहरु पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी कम्तिमा निश्चित समय निर्धारण गरी खोल्न पाइने व्यवस्था हुन सम्बन्धित निकायमा संघको निरन्तर आग्रहबमोजिम नै हुनुपर्ने माग संघले सार्वजनिकरुपमा राखेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले विज्ञप्ति प्रकाशन गरी उद्योगी/व्यवसायीहरु सबै र सधैं सम्पन्न अवस्थामा नहुने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ–अझ आफ्नो व्यवसाय सञ्चालन वा विस्तार गर्न धेरैजसो उद्योगी/व्यवसायीहरु बैंक ऋणमै निर्भर रहनुपरेको हुन्छ । निषेधाज्ञाका कारणले उद्योग/व्यवसाय चल्नसक्ने अवस्था नहुनु र उद्योगी/व्यवसायीको दैनिक गुजारामै समस्या आउनु एकातिर छ भने अर्कोतर्फ बैंक व्याज किस्ताको चपेटामा उद्योगी/व्यवसायीहरु छन् ।

‘कतिपय सामान बन्द गरिराख्दा थप नोक्सान भइरहेका छन् । उद्योगी/व्यवसायीको रोजीरोटी र आर्थिक सन्तुलन उद्योग/व्यवसाय खोल्दामात्र सम्भव भएकाले उद्योगी÷व्यवसायीलाई बिनासुविधा वा बिनासहजीकरण निरन्तर निषेधाज्ञा सहने अवस्था रहने नभएकोतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ–घरधनीहरुले समस्यामा रहेका व्यवसायीको घरभाडा छुट गरिदिन, स्थानीय निकायहरुले व्यवसाय कर मिनाहा गरिदिन, बैंकहरुले निषेधाज्ञा अवधिलाई ‘शुन्य समय’ मानी व्याज मिनाहा गर्न अनुरोध छ ।

सरकारले कोभिड–१९ महामारीको दोस्रो लहर नियन्त्रणका लागि बैशाखको दोस्रो साताबाट देशका प्रायः सबै जिल्लामा क्रमिकरुपमा लगाएको निषेधाज्ञाको असर हेटौंडाको आर्थिक क्षेत्रमा पनि परेको छ । निषेधाज्ञाको एक महिना अवधिमा बैंकिङ क्षेत्रको निक्षेप र कर्जाको वृद्धिदर मासिक आधारमा ७५ प्रतिशत्ले घटेको बताइएको छ । निषेधाज्ञामा मानिसको हिँडडुलसँगै आर्थिक/व्यावसायिक कारोबारमा रोक लगाइएको र बैंकिङ कारोबारका लागि समेत सीमित समयतालिका तोकिएकाले बैंकको निक्षेप र कर्जा संकुचित भएको अध्यक्ष कटुवालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्