खोलाले बगाउँदा एक बालकसहित महिला बेपत्ता



दयाराम पण्डित, बाजुरा ।

बाजुराको त्रिबेणी नगरपालिका वडा नं ५ मा किम्नी खोलाले बगाउँदा सोही वडाका एक जना बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको खोजी गर्न मौरे प्रहरी चौकीबाट प्रहरी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजित महराले जानकारी दिनुभएको छ । बालकको नाम भने खुलेको छैन प्रहरी नायब उपरिक्षक महराले बताए ।

यस्तै जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँ नजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला ल्वार रहेकी छन् । आइबातरदेखि आएको लगातारको अविरल वर्षासंगै सोमबार विहान खोलामा आएको बाढीले बगाउँदा उक्त महिलालाई बेपत्ता पारेको हो । बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानीय धनवहादुर बोहराले बताए ।

बेपत्ता ल्वारको खोजी कार्य भएपनि नभेटाएको स्थानीयले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी विचल्लीमा परेको बोहराको भनाई छ । बेपत्ता महिलाका श्रीमानले अर्काे विवाह गरेर भारतमा गएको स्थानीयले बताए ।
खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ । बाजुरामा गए रातिदेखि निरन्तर वर्षा भैरहेको छ ।

वर्षका कारण बाहुली खोलाले सदरमुकाम मार्तडीको नहर बालुवाले पुरिँदा विद्युुत सेवा अनियमित भएको छ भने बडिमालिका नगरपालका वडा नं २ घागरमा पहिरोले रुख ढाल्दा विद्युत पोल भाँचिएको छ । ‘बाजुरामा निरन्तर झरी वर्षा भइरहेकोले एक्कासी खोला बढ्ने र पहिरो जानसक्ने हुँदा खोला आसपास र बाढी पहिरोको उच्च जोखिम हुनसक्छ । तसर्थ उक्त स्थानमा कोही कसले पनि आवतजावत नगर्न नगराउन सर्बसाधारणमा अपिल गर्दर्छौं ।’ सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्