खोपमा ग्रामीण भेगका नागरिकको चासो कम



कृष्णउदास खनाल, वीरगन्ज । 

पर्सामा सञ्चालन भइरहेको कोरोना भाइरसविरुद्धको खोप शहरमा अभाव भइरहेको अवस्थामा ग्रामीण क्षेत्रमा भने खोप लगाउनेको अभाव देखिएको छ ।सरकारले काठमाडौं उपत्यकाबाहिरका जिल्लाहरुमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाउने भनेको छ ।

तर, पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरु खोप लगाउन नआउने र शहरी क्षेत्रमा भने लक्षित उमेर समूह भन्दा बाहिरको व्यक्तिहरुसमेत खोप लगाउन आउँदा खोप सञ्चालनमा नै समस्या सिर्जना भएको छ । पर्साको ग्रामीण क्षेत्रका स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा खोप लगाउन आउने लक्षित उमेर समूहको संख्या अत्यन्त न्यून रहेका छन् । पर्साको ठोरी गाउँपालिकामा ३ सय ५८ जना लक्षित समूहको संख्या रहेकोमा करिब २ सय जनाले मात्रै खोप लगाएका छन् । प्रचारप्रसार गरेको भए पनि केहीले खोप लगाउने इच्छा नदेखाएको, केहीलाई ज्वरो आएको अवस्थामा लगाउन नमिल्ने भएर तथा केही बसाइँसराइले संख्या घटेको स्वास्थ्य संयोजक रमेशराज थिङले जानकारी दिनुभयो ।जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले ग्रामीण क्षेत्रमा खोप लगाउने संख्या कम हुँदा ३० प्रतिशत मात्रै कभरेज भएको जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा खोप लगाउने मान्छे नआउँदा खोप कार्यक्रम नै असफल भएको छ भने महानगरपालिकाको शहरी क्षेत्रमा भने लक्षित समूह भन्दा बाहिर समूहका व्यक्तिहरुले खोप पाउनुपर्छ भनेर आउँदा समस्या उत्पन्न भएको छ ।

अन्तरव्यक्ति सञ्चार, महिला स्वयंसेविका मार्फत पनि सूचना प्रवाह गरेको भए पनि ग्रामीण क्षेत्रमा भने चीनबाट ल्याएको खोपमा भ्रम सिर्जना गरिएका कारण खोप लगाउन नआएको खोप अधिकृत सिंहको भनाइ छ । पर्सामा १२ हजार जति ६२ देखि ६४ वर्ष उमेर समूहको लक्षित संख्या रहेकोमा १० हजार ८ सय ३० डोज मात्रै खोप उपलब्ध भएको छ । ग्रामीण क्षेत्रमा खोप लगाउन नमान्दा र महानगरमा भने खोप अपुग हुँदा खोप वितरणको सन्तुलन नै बिग्रिएको छ । यसलाई जिल्ला खोप समन्वय समितिसँग छलफल गरेर निर्णय गरिने खोप अधिकृत सिंहले बताउनुभयो ।जेठ २८ गते र २९ गते खोप लगाइएको र आइतबारदेखि खोप कार्यक्रम रोेकेको जानकारी दिँदै उहाँले अब खोप समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार नै कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।पर्साको जिराभवानी गाउँपालिकाका १ सय ४५ जनाले मात्रै खोप लगाएका छन् । जगरनाथपुर गाउँपालिकामा ४ सयको हाराहारीमा लक्षित उमेर समूह भए पनि १ सय ६४ जनाले मात्रै खोप लगाएका छन् । त्यस्तै छिपहरमाई गाउँपालिकामा ४ सय ४७ जना लक्षित समूहको संख्या रहेकोमा ६१ जनाले मात्रै खोप लगाएका छन् । धोबिनी गाउँपालिकामा ३ सय ४१ जनामा ४८ जनाले, पकाहामैनपुरमा ५७ जनाले लगाएका छन् ।

त्यसै गरी, ४ सय १० लक्षित उमेर समूहको संख्या रहेको विन्दवासिनीमा १ सय ९८ जनाले मात्रै खोप लगाएका छन् । बहुदरामाई नगरपालिकामा ६ सय ६१ जना लक्षित उमेर समूहको संख्या मध्य ३ सय ३० जनाले लगाएका छन् । ग्रामीण क्षेत्रका अधिकांश गाउँपालिकामा चिनयाँ खोप काम गर्दैन भनेर भ्रम फैलाइएका कारण खोप लगाउन डराएर नआएको गाउँपालिकाका स्वास्थ्य संयोजकहरुले बताएका छन् ।
निषेधाज्ञा थप एक साता पर्सामा वैशाख १६ गतेबाट जारी गरिएको निषेधाज्ञाको समय फेरि एक साता थपिएको छ । आइतबार बसेको सो केन्द्रको बैठकले आइतबार रातिबाट सकिने निषेधाज्ञाको समय पुनः थप गरी असार ६ गतेसम्मका लागि लम्बाउने निर्णय गरिएको हो ।यद्यपि यसपालि भने केही खुकुलो गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जनाएको छ । यसपालि भने निषेधाज्ञाको शैली केही परिवर्तन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अब सोमबार जेठ ३१ गतेबाट मध्याह्न १२ बजेसम्म जनस्वास्थ्यका सबै मापदण्डहरु पूरा गरी सबै प्रकारका व्यवसाय वीरगन्जमा सञ्चालन गर्न पाइनेछ । यद्यपि अत्यावश्यक वस्तुहरुको आपूर्तिका लागि कुनै रोकतोक नलगाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्