नेपालीलाई घाममा काम लगाउने ९८ कम्पनीलाई कारबाही



न्युज अफ नेपाल, हेटौंडा ।

दिउँसोको टन्टलापुर घाममा नेपाली श्रमिकलाई काममा लगाउने ९८ कम्पनीलाई कतार सरकारले कारबाही गरेको छ । कतार सरकारले जुन दोस्रो सातासम्म ९८ कम्पनीलाई कारबाही गरेको हो । त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले घाममा कामदारलाई काममा लगाएको भन्दै कम्पनीलाई कारबाही गरेको हो । कतार सरकारले घाममा काम लगाउने ५४ कम्पनी पहिलो चरणमा र दोस्रो चरणमा ४४ कम्पनीलाई कारबाही गरेको छ ।

त्यहाँ नेपालीसहित लाखौं श्रमिक टन्टलापुर घाममा तरतरी पसिना चुहाउँदै काममा खटिएका हुन्छन् । कतारमा हरेक दिनजसो एक नेपालीको मृत्यु हुने गरेको त्यहाँबाट हेटौंडेली सञ्चारकर्मी अनिल पराजुलीले बताएका छन् । कारबाहीमा परेका निर्माण, मर्मत, कृषि र उद्योग क्षेत्रका कम्पनीलाई तीन दिन बन्द गर्र्न सजाय दिएको मन्त्रालयले जनाएको छ । कतारको अलमुन्ताजा, खलिफा शहर, अलबाक्रा, अलबुकैर, अलसैलिया, अलखैरैत्यायत, अलराययान अल जदिद, ऐन खालिद, उम्मसलाल मुहम्मद, लुसाइल, अलडफना, मुरैख र अलमसाफमा रहेका कम्पनीले नियम उलंघन गरेका थिए । मन्त्रालयले सबै कम्पनीलाई निषेधित समयमा काम नलगाउन निर्देशन दिएको छ ।

कतार सरकारले पहिलो चरणमा जुन १ देखि ३ तारिखसम्म र दोस्रो चरणमा जुन ४ देखि ९ तारिखसम्म निरीक्षण गरेको कतारबाट प्रकाशित हुने क्युएन खबरले जनाएको छ । २००७ को मन्त्रिपरिष्द निर्णय १६ अनुसार कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म विहान १० देखि ३ः३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतराका कारण सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले गत वर्ष नियम उलंघन गर्ने २ सय बढी कम्पनीलाई कारबाही गरेको थियो । कम्पनीले नियम उल्लंघन गरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । कतारमा बढीमा ५५ डिग्री र घटीमा १७ डिग्रीसम्म तापक्रम हुने गरेको छ । नेपाली राजदुतावास दोहा, कतारका अनुसार कतारमा करिब ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत् छन् ।

त्यहाँ कार्यरत् विभिन्न देशका कामदारलाई राम्रो व्यवहार नभएको गुनासो छ । चौतर्फीरुपमा भनिएपछि मात्र कतारले सुधारहरु थालेको हो । यसबाट नेपालीलाई फाइदा हुने देखिन्छ । किनभने, कम्पनीले पनि राम्रो व्यवहार गरेनौं भने उनीहरुले छाडेर जान्छन् भन्ने महसुस गर्छन् ।

प्रतिक्रिया दिनुहोस्