विपद व्यवस्थापनको पूर्व तयारीमा जुट्दै वालिङ



अमृत अर्याल, स्याङजा ।

विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलबायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो । नगर प्रमुख एवं नगरस्तरीय विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने निर्णय भएको हो ।

गतवर्षभन्दा यसवर्ष पानी धेरै आउने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई विशेष ख्याल गर्ने बैठकले निर्णय गरेको छ । जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने, विपद न्यूनिकरणका लागि समयमै उद्धार गर्ने कार्यकालागि आवश्यक उपकरणहरुको खरीद गरी उद्धार कार्यलाई छिटो छरितो गराउने निर्णय भएको छ ।

वालिङ नगरभित्रका मनसुनजन्य विपदमा परी विभिन्न घरहरु भत्किने र पुनःस्थापना तथा प्रबलीकरण गर्नपर्ने घरहरुको लागि नेपाल सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत रकम बेहोर्ने ब्यवस्था भए बमोजिम वालिङ नगरपालिकामा स्वीकृत भई आएका घरहरुका लागि नगरपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय भएको छ । वालिङ नगरपालिकाभित्र गतवर्षको असारदेखिको वर्षाका कारण आएको पहिरो तथा बाढीका कारण पुनःस्थापना गर्नुपर्ने घर संख्या ६३, प्रबलीकरण गर्नुपर्ने घर संख्या ८७ र पुनर्निर्माण गर्नुपर्ने घर संख्या ३६ रहेका छन् ।

त्यस्तैगरी वालिङ नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा रकम तथा जिन्सी सहयोग गर्ने, सवारी साधनहरु उपलब्ध गराउने, स्वयंसेवककोरुपमा कार्य गर्ने सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्