अक्सिजन प्लान्ट स्थापनाको काम शुरू



बैतडी (नेस) ।

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया थालिएको छ । संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएपछि प्लान्ट स्थापनाको प्रक्रिया थालिएको हो ।असारभित्र प्लान्ट निर्माण सम्पन्न हुने गरी प्रक्रिया अघि बढाइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । प्लान्ट स्थापनाका लागि बोलपत्र आह्वान गरिसकिएको र त्यसका लागि जेठ २८ गतेसम्मको म्याद राखिएको छ । उहाँले भन्नुभयो– ‘अस्पतालमा अक्सिजन प्लान्ट खरिद गरी जडानका लागि बोलपत्र आह्वान गरेका हौं, असारमा प्लान्ट स्थापना भइसक्छ ।

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो ।प्रदेश र संघ सरकारले विनियोजन गरेको बजेटलाई एउटैमा मिलाएर प्लान्ट स्थापनाको तयारीको भएको अस्पतालले जनाएको छ । प्लान्ट स्थापना भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणाधीन ५० श्ययाको अस्पतालका लागि पनि सहयोग पुग्ने प्रमुख डा. जोशीको भनाइ छ ।
उहाँले भन्नुभयो– ‘प्लान्ट स्थापनाले ५० श्ययाको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य अप्रेसन, आइसीयू सञ्चालनका लागि पनि सजिलो हुन्छ ।’

जिल्ला अस्पताल बैतडीमा ४६ वटा अक्सिजन सिलिन्डर छन् भने १८ वटा अक्सिजन कन्सन्ट्रेटर छन् । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हाल ३ सय कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने १६ जनाको संक्रमणकै कारण ज्यान गइसकेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जेठ ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्