जुहीले फाइभ जीको विरोध गरेपछि…



बलिउड अभिनेत्री जुही चावला फाइव जी विस्तारको विरोधमा मुद्दा लिएर केही दिनअघि भारतको उच्च अदालत पुगेकी छिन्।उनको याचिकामाथि केही दिनअघि पहिलो सुनुवाइ भएको थियो भने दोस्रोपटक बुधबार उच्च अदालतले भर्चुअल रुपमा सुनुवाइ गरेको छ। उक्त फैसलाको क्रममा जुहीको एक फ्यानले भने हंगामा मच्चाएका थिए। ती फ्यानले जुहीले नै नृत्य गरेको लाल होठो पे गोरी किस्का नाम हे बोलको गीत गाएपछि सुनुवाइ केहीबेरका लागि रोकिएको थियो भने अदालतले उक्त व्यक्तिलाई भर्चुअल सुनुवाइबाट बाहिर हटाइदिएको थियो। सुनुवाइमा जोडिएका ती व्यक्ति पटक–पटक सुनुवाइमा सामेल भएर जुहीको गीत गाउँदै अभद्र व्यवहार देखाएका थिए। ति व्यक्तिले पटक–पटकको त्यस्तो व्यवहार गरेपछि अदालतले अवहेलनाको सूचना जारी गरेर उक्त व्यक्ति पत्ता लगाएर कारबाहीको आदेश दिएको थियो। वकिल, पत्रकार अदालतको कर्मचारीमध्ये कोही पनि नरहेका ती व्यक्ती व्यक्ति को थिए र कसरी सुनुवाइमा सामेल भए भनेर सबै अञ्जान थिए।

जुहीले आफ्नो याचिकामा फाइभ जी टेक्नोलोजी रेडियसनले मानिस तथा पशुपंछीका लागि हानिकारक भएको र यसलाई लागू गर्नुभन्दा पहिले मानिस तथा पशुपंछिमा यसको असरबारे जाँच गर्नुपर्ने माग राखेकी थिइन्। साथै, उनले यस प्रविधिले अहिलेका तथा आउने पिंढीको लागि कुनै प्रकारको नोक्सान हुने हो कि भन्नेतिर ध्यान दिनुपर्ने उल्लेख गरेकी थिइन्। उनले आफू प्रविधि विरोधि नभएको तर, नयाँ प्रविधि भित्र्याउँदा त्यसको असरबारेचाहिँ सोच्नुपर्ने माग राखेकी थिइन्।जुहि चावलाले हानिकारक रेडियसनको यस्ता विषयमा आवाज उठाएको पहिलोचोटि भने होइन। मानिसहरुको सुरक्षा सफाइ तथा अन्य विषयमा जागरुक गराइरहने उनले सन् २००८ मा पनि महाराष्टझका तत्कालीन मुख्यमन्त्री देवेन्द्र फडणबिसलाई पत्र लेखेर मोबाइल टावर तथा वाइफाई हटस्पटबाट निस्किने रेडियसनले मानव जीवजन्तु तथा रुखबिरुवालाई गर्ने नोक्सानप्रति सचेत गराएकी थिइन्।

त्यस्तै, सन् २०११ मा मालावर हिल निवासी जुहीले आफ्नो घरबाट ४० मिटर पर रहेको एक घरमा राखिएको १६ ओटा मोबाइल टावरलाई लिएर चिन्ता व्यक्त गरेकी थिइन्। आईआईटी मुम्बईका एक अधिकारीले गरेको जाँचको क्रममा उनको घर पनि उक्त मोबाइल टावरको प्रभावबाट असुरक्षित रहेको देखिएपछि चिन्ता बढेको बताएकी थिइन्। चीन, अमेरिका, दक्षिणा कोरियाजस्ता मुलुकमा फाइभ जी नेटवर्क पहिलेदेखि नै सञ्चालनमा रहे पनि नेपाल र भारतमा भने यसको परीक्षणको तयारी चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्