बाढी पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण हुने



न्युज अफ नेपाल, पर्वत ।

पर्वत जिल्ला भित्र बर्खायाममा पहिरो र बाढीको जोखिममा पर्न सक्ने बस्तीलाई स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका पाँचओटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिश गरेको हो । स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, कोटघर कोट गाउँ र नुवारखोला रहेका छन् भने जलजला गाउँपालिका–४ को गौरेटे बस्ती र फर्सेलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिश गरिएको छ ।

त्यस्तै कुश्मा नगरपालिका–१२ ठुलीपोखरीको राम्चेमुनी बस्तीलाई स्थानान्तरण गर्न यसअघि नै सिफारिश गरिसकिएकाले त्यसका लागि प्राविधिक सहयोग गर्न सम्बन्धित निकायमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । विपद् पूर्वतयारीस्वरुप बस्ती स्थानान्तरणको पहल भएको उहाँले बताउनुभयो । गएको वर्षको बाढीपहिरोका कारण पर्वतका ६ सय १ घर स्थानान्तरण तथा पुनर्निर्माणको सूचीमा परेका छन् ।

तीमध्ये ८५ ओटा घर अति जोखिममा रहेकाले तत्कालै व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले बजेट निकासा गरेको थियो । तर, गण्डकी प्रदेश सरकार र स्थानीय तहको समन्वय अभावले बजेट निकासा नहुँदा प्रभावित परिवारको पुनःस्थापना बीचमै रोकिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न गतवर्ष नै सिफारिश गरेर पठाइएकोमा आशिंक माग मात्रै सम्बोधन भएको बताउनुभयो । जोखिममा रहेका बस्ती तत्कालै स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेकोले सरकारले यसलाई प्राथमिकता दिने बिश्वास उहाँको छ ।

मनसुनका करिब एक सय दिन (असार–असोजसम्म) वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । पर्वतमा विशेषगरी नदी किनारका तटीय क्षेत्रमा बढी जोखिम हुने गरेको छ भने भिरालो स्थानमा रहेका गाउँबस्तीका बासिन्दा वर्षायाम शुरु भएदेखि नै पहिरोको त्रासमा रहन्छन् । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रवार सम्पन्न बैठकले विपद् प्रतिकार्य योजना समेत पारित गरेको छ ।

बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी व्यवसायी र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा छलफल गरी प्रतिकार्य योजना पारित गरेको हो । मौसमविद्का अनुसार यस वर्ष धेरै वर्षा हुने र बाढी पहिरो, चट्याङ, हावाहुरी लगायत विपद्का घटनाबाट धेरै धनजनको क्षति हुने पूर्वानुमान गरिएको छ । सोही अवस्थालाई लक्षित गर्दै मनसुनपूर्व नै प्रतिकार्य योजना बनाएर अघि बढ्ने तयारी गरिएको प्रजिअ खत्रीले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्