उपप्रधानमन्त्री महतोको पुत्ला दहन



बैतडी नेस ।

देशद्रोही अभिव्यक्ति दिएको भन्दै बैतडीमा उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।सुर्नया गाउँपालिका–२ स्थित सिउँडे बजारमा आइतबार बेलुका युवाहरूले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेका हुन् ।

पातालभूमेश्वर जागरण मञ्च, नेचुरल अर्गनाइनेजसन, पब्लिक पावरमा आबद्ध युवाहरूले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गर्दै नाराबाजीसमेत गरेका छन् । उनीहरूले राष्ट्रघाती सम्झौता खारेज गर, उपप्रधानमन्त्री महतो मुर्दावाद लगायतका नाराहरू लगाएका थिए । केहीदिन पहिले मात्रै सरकारमा गएका उपप्रधानमन्त्री महतोले देशद्रोही अभिव्यक्ति दिएकाले पुत्ला दहन गरिएको पातालभूमेश्वर जागरण मञ्चका विनोद विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएकाले पुत्ला दहन गरेका हौं ।’उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन र संविधान हुनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्